काठमाडौं । पिएसजी र चेल्सी फिफा क्लब विश्वकपको नयाँ संस्करणको फाइनलमा भिड्ने भएका छन्।
फिफाले नयाँ फर्म्याटमा सञ्चालन गरेको क्लब विश्वकप गत जुन १४ देखि सुरु भएको हो। यसपटक फिफाका ६ वटा कन्फेडेरेसनका ३२ क्लबहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका छन्।
अब उपाधिका लागि इंग्लिश क्लब चेल्सी र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) आमने–सामने हुने भएका छन्। फाइनल खेल आइतबार राति अमेरिका, न्यूजर्सीको मेटलाइफ स्टेडियममा हुनेछ।
यसपटक क्लब विश्वकपलाई भव्य बनाउन फिफाले एक अर्ब अमेरिकी डलरभन्दा बढी पुरस्कार रकमको व्यवस्था गरेको छ।
फाइनलमा पुगेका दुबै क्लबले सय मिलियन डलरभन्दा बढी नगद पुरस्कार पाउने भएका छन्। पिएसजीले कम्तीमा १०६ दशमलव ९३ मिलियन डलर पाउनेछ भने चेल्सीले १०४ दशमलव ६३ मिलियन डलर पाउनेछ। त्यसैमा उपाधि जित्ने क्लबले थप १० मिलियन डलर पुरस्कारस्वरूप प्राप्त गर्नेछन्।
त्यस्तै सेमिफाइनलमा पराजित भएका रियल म्याड्रिडले ८२ दशमलव ५२ मिलियन डलर पाउनेछ भने ब्राजिलियन क्लब फ्लुमिनेन्सले ६० दशमलव ८३ मिलियन डलर पाउने पक्का भएको छ।
क्वाटरफाइनलमा पुगेका अन्य क्लबहरूमा बायर्न म्युनिखले ५८ दशमलव २२ मिलियन, बोरुसिया डोर्टमुण्डले ५२ दशमलव ३२ मिलियन, म्यानचेस्टर सिटीले ५१ दशमलव ७ मिलियन, पाल्मेइरासले ३९ दशमलव ८३ मिलियन र इन्टर मिलानले ३६ दशमलव ८ मिलियन डलर पाउनेछन्।
अन्य सहभागी क्लबहरूमा बेनफिका (२९ दशमलव ९ मिलियन), फ्लामेङ्गो (२७ दशमलव ७ मिलियन), बोटाफोगो (२६ दशमलव ७ मिलियन), युभेन्टस (२६ दशमलव ६ मिलियन), पोर्टो (२४ मिलियन) र एटलेटिको म्याड्रिड (२३ दशमलव ७ मिलियन) ले पनि आ–आफ्नो प्रदर्शनअनुसार पुरस्कार रकम हात पार्नेछन्।
त्यस्तै इन्टर मियामी र मोन्टेरीले समान २१ दशमलव ०५ मिलियन डलर पाउनेछन्। रिभर प्लेटले १८ दशमलव २१ मिलियन, बोका जुनियर्सले १७ दशमलव २१ मिलियन, आरबी साल्जबर्गले १५ दशमलव ८१ मिलियन, मामेलोडी सनडाउन्सले १२ दशमलव ५५ मिलियन, इएस टुनिस, एल अहली र अल ऐनले समान ११ दशमलव ५५ मिलियन डलर प्राप्त गर्नेछन्।
यसैगरी लास एन्जलस, सिएटल साउन्डर्स, उरावा रेड डायमण्ड्स, उल्सान एचडी, वायडाड र पचुकाले समान ९ दशमलव ५५ मिलियन डलर पुरस्कार पाउनेछन्। सबैभन्दा कम पुरस्कार भने अक्ल्याण्ड सिटीले पाउनेछ, जसले ४ दशमलव ५८ मिलियन डलर प्राप्त गर्ने भएको छ।
फिफाले समूह चरण खेल्ने सबै टिमलाई २ मिलियन डलर र जित्ने टिमलाई थप १ मिलियन डलर पुरस्कार दिएको छ। त्यस्तै राउन्ड अफ १६ मा पुग्ने क्लबले ७ दशमलव ५ मिलियन, क्वाटरफाइनलमा पुग्नेले १३ दशमलव १२५ मिलियन, सेमिफाइनल खेलेका क्लबले २१ मिलियन, उपविजेता क्लबले थप ३० मिलियन र विजेता क्लबले थप ४० मिलियन डलर बोनस स्वरूप पाउनेछन्।
FACEBOOK COMMENTS