दमक । प्रधानमन्त्री केपी शर्मा ओली दुईदिने झापा र इलाम भ्रमणमा आज गृहजिल्ला झापा गएका छन् ।
शनिबार बिहान ११ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री ओलीलाई एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मत कुमार कार्की लगायतका नेताहरूले स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज झापा र इलामका विभिन्न विकास आयोजनाको उद्घाटन र जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रमहरूमा सहभागी हुनेछन् ।
ओलीले बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नेछन् भने कन्काई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा वितरण गर्ने कार्यक्रम तय गरिएको छ।
त्यस्तै आजै प्रधानमन्त्री ओली इलाम जिल्लाको माई नगरपालिकामा अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्नेछन्। साथै माई नगरपालिकामा रहेको नगर अस्पतालको समेत उद्घाटन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीले आइतबार दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन गर्नेछन्। त्यस्तै बिर्तामोडको सिटी सेन्टरमा आयोजित एमाले कार्यकर्ता भेलालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
FACEBOOK COMMENTS