काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटेको जनाएको छ।
फिफाले सन् २०२१ को मार्च १५ मा एन्फामाथि आर्थिक अपारदर्शिताको आशंका गर्दै ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो। त्यसयता फिफाले एन्फालाई प्रदान गर्ने आर्थिक सहयोग आफ्नै नियन्त्रणमा राखेर खर्च गर्न दिने व्यवस्था गरेको थियो।
चार वर्षपछि फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जिएसीसी) को पछिल्लो बैठकले सो बन्देज हटाउने निर्णय गरेको एन्फाले जानकारी दिएको छ। गएको बिहीबार बसेको उक्त बैठकपछि एन्फा स्वतन्त्र रूपमा फिफाबाट प्राप्त आर्थिक सहयोग खर्च गर्न सक्ने भएको छ।
एन्फाले पछिल्लो समय निर्वाचनपछि संगठन सुधार, व्यवस्थापनमा पारदर्शिता र सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको थियो। ‘कन्ट्रोल फन्डिङ’ हटेसँगै एन्फाले आफूले अघि सारेको सुधार यात्रा अझै सुदृढ भएर अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
FACEBOOK COMMENTS