काठमाडौं । भारतको अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमाथि एयरलाइन पाइलट एसोसिएसन अफ इन्डियाले अनुसन्धान प्रक्रियाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै योग्य र प्राविधिक रूपमा दक्ष व्यक्तिहरूलाई अनुसन्धानमा समावेश नगरिएको भन्दै प्रारम्भिक प्रतिवेदनमाथि आपत्ति जनाएको हो। एसोसिएसनका अध्यक्ष क्याप्टेन साम थोमसले पाइलटहरूलाई दोषी ठहर्याउने मानसिकताले अनुसन्धान भएको जस्तो देखिएको भन्दै आपत्ति जनाएका छन्। ‘हामीलाई लाग्छ यो अनुसन्धान पाइलटहरूलाई दोषी ठहर्याएर गरिएको छ र यसप्रति हामी आपत्ति जनाउँछौं,’ थोमसले बताएका छन्।
विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदनअनुसार उडान भरेको केही सेकेन्डमै विमानका दुवै इन्जिन बन्द भएका थिए। इन्धन आपूर्ति बन्द हुनासाथ इन्जिन १ र इन्जिन २ को गति उडान भर्ने स्तरबाट घट्न थालेको प्रतिवेदनमा उल्लेख छ। साथै प्रतिवेदनमा सो क्रममा विमानका दुई पाइलटहरूबीच भएको संवाद पनि समेटिएको छ।
पाइलट एसोसिएसनले निष्पक्ष र पारदर्शी अनुसन्धानका लागि आफैंलाई पनि पर्यवेक्षकका रूपमा समावेश गर्न अपिल गरेको छ। ‘हामी पुनः एक पटक अधिकारीहरूलाई पारदर्शिता कायम राख्न र हामीलाई अनुसन्धान प्रक्रियामा समावेश गर्न अपील गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
FACEBOOK COMMENTS