काठमाडौं । कर्णाली विकास बैंक अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ परेका छन् ।
राष्ट्र बैङ्कका पूर्वकर्मचारी भुवन बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको टोखाबाट पक्राउ गरेको बताइएको छ ।
खराब अवस्थामा रहेको बैंकको वित्तीय अवस्था ठिक छ भनेर प्रतिवेदन बनाएको भन्दै बस्नेतलाई पक्राउ गरेको बताइएको छ । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता प्रकरणमा अनुसन्धान जारी छ ।
बैंक गम्भीर समस्यामा पुग्दा पनि अनुगमन अधिकृतका रूपमा खटिएका बस्नेतले अवस्था ठिक रहेको भन्दै प्रतिवेदन दिएको आरोप रहेको छ । यसअघि सीआईबीले अनुगमनमा गएकाहरूको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।
यसअघि प्रहरीले भारतबाट संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष एवं एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी, नीरजविक्रम शाहलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS