काठमाडौं । राप्रपाको विवाद बढ्ने संकेत देखिएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले एक पछि अर्को गर्दै नेताहरुलाई पदमुक्त गर्न शुरु गरेपछि राप्रपाको विवाद बढेको हो ।
अध्यक्ष लिङदेनले महामन्त्री डा. धवलशमशेर राणालाई संगठन विभागको प्रमुखबाट हटाएर शुरु गरिएको अभियान नवराज सुवेदीलाई अनुशासन आयोगको अध्यक्षबाट, सगुन लावतीलाई प्रवक्ताबाट तथा मुकुन्द श्याम गिरीलाई उपाध्यक्षबाट हटाएका छन् ।
लिङदेनले आफ्नो विरोध गर्नेहरुलाई धमाधम हटाइरहेको आरोप लगाइएको छ ।
यसैबीच उपाध्यक्षबाट हटाइएका मुकुन्द श्याम गिरी आजै निर्वाचन आयोग पुगेर आफ्नो निवेदन दिने बताएका छन् । यस अघि सुवेदीले पनि आयोगमा पुगेर आफुलाई विधान विपरित हटाइएको भन्दै निवेदन दिएका छन् ।
त्यस्तै राप्रपाको कर्णाली प्रदेशका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सामुहिक अपिल गर्दै गिरीलाई पार्टीको उपाध्यक्ष एवं केन्द्रीय समिति सदस्यबाट पदमुक्त गरेको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनीहरुले गिरीले पार्टीलाई दिएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः संचालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामुहिक वक्तव्यलाई आधार बनाएर विना कुनै सूचना र स्पष्टीकरण उनलाई विधान विपरीत पदमुक्त गरिएको बताएका छन् ।
साथै उनीहरुले यस निर्णयप्रति असहमति व्यक्त गर्दै पार्टीको वृहत्तर हित र पार्टी एकतालाई ध्यानमा राखेर उनलाई विधान विपरीत गरिएको कारवाही तत्काल फिर्ता गरी पूर्ववत् जिम्मेवारीमा पुनर्स्थापना गर्न अध्यक्ष लिङदेनलाई अपिल गरेका छन् ।
अपिल गर्नेमा महामन्त्री कुन्ति कुमारी शाही, कर्णाली प्रदेश अध्यक्ष दीपबहादुर शाही, केन्द्रीय सदस्यहरु सत्यबहादुर शाही, कालिबहादुर शाही, सुनिता शाह, सौरेन्द्र बहादुर शाह, यज्ञ बहादुर सिंह, जनक सिंह ठकुरी, भिम बहादुर शाही, अनुपम सिं श्रेष्ठ, दिपक मल्ल, दिपक खनाल, बबिता शाही रहेका छन् ।
FACEBOOK COMMENTS