काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।
हाल मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा , कोशी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आगामी २४ घण्टा सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने जनाइएको छ ।
दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेकोछ ।
FACEBOOK COMMENTS