काठमाडौं । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष निकालेको छ ।
दुईदिनसम्म भएको बैठकले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुन: सक्रिय राजनीतिमा फर्क नहुने निष्कर्ष निकालेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
राष्ट्रपति पद राष्ट्रको अभिभावकीय भूमिका बोकेको संवैधानिक ओहदा भएकाले त्यसपछिको राजनीतिक पुन:सक्रियता संस्थागत मर्यादा विपरीत हुने निष्कर्षमा बैठक पुगेको गौतमको भनाइ छ ।
‘राष्ट्र अध्यक्ष जस्तो उच्च पदमा पुगेको व्यक्तिलाई तल ल्याएर काम लगाउने कुरा उनीप्रतिको पनि अपमान हुनसक्छ भन्ने भावना बैठकमा व्यक्त भयो’, गौतमले भने ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि सो विषयमा बहस सुरू भएको थियो । केन्द्रीय कमिटीको बैठकले त्यसलाई टुङ्ग्याउँदै आउने अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउने निश्चित जस्तै गरेको छ ।
बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुल्ला गरिदिएको छ । यो निर्णय भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउने छ ।
पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीको अबको ध्यान मिसन २०८४ मा जानु पर्ने र त्यसको लागि केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्ने सुझाव दिनुभएको थियो । पार्टी केन्द्रीय कमिटीको औपचारिक निर्णय सार्वजनिक हुन भने बाँकी रहेको छ ।
७० वर्षको उमेरहद र दुई कार्यकाल हटाएर एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पुन: अध्यक्ष हुनबाट रोक्न नचाहेको गौतमले स्पष्ट पारे । योग्यता पुगेका पार्टीका नेताहरू अध्यक्षको प्रतिस्पर्धामा आउन सक्ने उनले स्पष्ट पारे ।
पूर्वराष्ट्रपतिको हकमा भने भोलि जनताले उठाउन सक्ने प्रश्न, प्रणाली माथि उठ्न सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने निष्कर्षमा पुगेको उनले बताए । राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति कुनै पार्टीको झण्डा बोकेर हिँड्नु हुँदैन भनेर यो निर्णयमा पुगिएको गौतमले बताए ।
यो एमालेको मात्र विषय नभएर सबै पार्टीको लागि गम्भीरताको विषय भएको उनले बताए । ‘पूर्वराष्ट्रपतिप्रति हामी सबैको गौरव छ, हामी अगाडि बढाउने छौँ’, उनले भने ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति पार्टीले गर्ने सम्मानमा कुनै कमी नहुने उनको भनाइ छ । पार्टी केन्द्रीय कमिटी बैठकमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारी अब कमरेड विद्या भण्डारी नभएर सम्माननीय पूर्वराष्ट्रपति भएको घोषणा गरिसकेको उनले बताए ।
FACEBOOK COMMENTS