काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ ।
हाल देशभर साधारणतया बदली रहेको छ र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आगामी २४ घण्टा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आवश्यक सतर्कता अपनाउनु हुन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS