काठमाडौं । दरमखोला हाइड्रो इनर्जीले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात साउन १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता सेयर बाँडफाँट गरिसकेको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँको प्रतिसेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्काशन गरेको हो।
आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यसको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS