झापा । झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की पड्किँदा आगलागी भएको छ । आइतबार साँझ भएको घटनामा टिफर चालक घाइते भएका छन् ।
आइतबार साँझ करिब ७: ३० बजे कम्पनी परिसरमा रहेको ट्याङ्कीबाट टिफरमा डिजेल लोड गर्ने क्रममा अचानक ट्याङ्की पड्किएर आगलागी भएको हो । उक्त ट्याङ्कीमा करिब ९ हजार ५०० लिटर हल्का डिजेल भण्डारण गरिएको थियो ।
आगलागीमा परी प्रदेश १–०१–००१ क १८०० नम्बरको टिफरका चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ निवासी ३५ वर्षीय कोफियत राई घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र उनी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट टिफरमा सामान्य क्षति पुगेको छ भने ट्याङ्कीमा भण्डारण गरिएको सम्पूर्ण डिजेल जलेर नष्ट भएको छ ।

