काठमाडौं । डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनको भेटपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो अडान बलियो बनाउन खोजिरहेका छन् ।
डोनाल्ड ट्रम्पपछि जेलेन्स्कीले युरोपेली नेताहरूसँग वार्ता गरेका छन् । यो कुराकानीपछि उनले कडा अडान देखाउँदै ट्रम्पपछि हामीले युरोपेली नेताहरूसँग हाम्रो अडान समन्वय गरेका छौं । युक्रेनको अडान स्पष्ट छरहेको बताउदै उनले आफु वास्तविक शान्ति स्थापना गर्न चाहेको बताएका छन् ।
जेलेन्स्कीले भनेका छन् ‘हामी चाहन्छौं कि हत्याहरू चाँडै बन्द होस् । युद्धभूमि र हवाई हमलासँगै, हाम्रो बन्दरगाह पूर्वाधारमा गोलीबारी पनि बन्द हुनुपर्छ । सबै युक्रेनी युद्धबन्दीहरू र नागरिकहरूलाई रिहा गर्नुपर्छ र रूसले हाम्रा अपहरण गरिएका बच्चाहरूलाई फिर्ता गर्नुपर्छ । जबसम्म आक्रमण र कब्जा जारी रहन्छ, रूसमाथि दबाब कायम राख्नुपर्छ ।’
जेलेन्स्कीले अगाडी भने, ‘राष्ट्रपति ट्रम्पसँगको मेरो कुराकानीमा, मैले भनेको थिएँ कि यदि त्रिपक्षीय बैठक भएन भने वा यदि रूसले युद्ध रोक्नबाट बच्न खोज्छ भने, प्रतिबन्धहरू कडा पार्नुपर्छ । प्रतिबन्धहरू एक प्रभावकारी उपकरण हो । युरोप र अमेरिका दुवैको सहभागितामा, सुरक्षाको भरपर्दो र दीर्घकालीन ग्यारेन्टी हुनुपर्छ ।’
युक्रेनी राष्ट्रपतिले देशको लागि महत्त्वपूर्ण सबै मुद्दाहरूमा आफुहरुको सहभागितामा छलफल गरिनुपर्ने बताएका छन् । उनले विशेष गरी क्षेत्रीय मुद्दाहरू युक्रेन बिना निर्णय गर्न नसकिने आफ्नो अडान स्पष्ट गरेका छन् ।
जेलेन्स्कीले अर्को हप्ता वाशिंगटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न सक्ने बताएका छन् । जेलेन्स्कीले अलास्कामा पुटिन र ट्रम्प बीचको भेटपछि शनिबार ट्रम्पसँग लामो र अर्थपूर्ण कुराकानी भएको बताए । सोमबार व्यक्तिगत रूपमा भेट्न निमन्त्रणा दिएकोमा उनले ट्रम्पलाई धन्यवाद दिएका छन् ।
जेलेन्स्कीले युक्रेन युद्धको वार्तामा युरोपलाई संलग्न गराउन पनि जोड दिएका छन् । उनले अमेरिकासँग मिलेर भरपर्दो सुरक्षा ग्यारेन्टी सुनिश्चित गर्न युरोपेली नेताहरू हरेक तहमा संलग्न हुनु महत्त्वपूर्ण हुने बताएका छन् ।
FACEBOOK COMMENTS