काठमाडौं । यति बेला नाडा अटो शोको बारेका हट केक बनिरहेको छ ‘फ्लाइङ् ट्याक्सी’ अर्थात् उड्ने कार ।
कल्पना मात्र गर्न सकिने फ्लाइङ् ट्याक्सी अब नाडा अटो शोमा प्रत्यक्ष हेर्न पाइने भएको छ । चाङ्गान अटोमोबाइलले निर्माण गरेको यो फ्लाइङ ट्याक्सी भोलिदेखि सुरू हुने नाडा अटो शो, २०८२ मा प्रदर्शन गरिँदैछ ।
नाडा अटो शोका लागि एमएडब्ल्यू वृद्धि अटोकर्पले ल्याएको यो ईभीटोल कार उड्नेवा भए पनि उडाउन भने नमिल्ने भएको छ । त्यसकारण यसलाई यो शोमा उडेको देख्न पाइने छैन ।
यो कार अटो शोमा प्रदर्शनीका लागि मात्र ल्याइएको र उडाउने अनुमति नभएको नाडाले जानकारी दिएको छ । नेपालमा यस्ता प्रविधिको उडानसम्बन्धी नीतिनियम अहिलेसम्म तयार नभएकाले ईभीटोललाई केवल ‘शोकेश’ मात्रै गरिने नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिए ।
‘नेपाली नागरिकहरूलाई नयाँ प्रविधि नजिकबाट देखाउने नाडाको यो महत्त्वपूर्ण पहल हो । उडाउन नपाएकोमा हामी पनि दु:खी छौँ, तर देशको कानुन नमानेर पनि भएन,’ महासचिव उप्रेतीले भने, ‘हाम्रा दाजुभाइ दिदीबहिनीहरूले नजिकबाट हेर्न पाउनु, बुझ्न पाउनु र सम्भावनाहरूको कल्पना गर्ने वातावरण र बहस सृजना गर्नु नै अहिलेका लागि मुख्य उद्देश्य हो ।’
महासचिव उप्रेतीका अनुसार, यातायात क्षेत्रको भविष्य यस्ता प्रविधिमै निर्भर छ । त्यसैले फ्लाइङ कारजस्ता प्रविधिको सम्भाव्यता र नीतिगत पक्षबारे छलफल गर्न अटो शोमा विशेष सत्रसमेत राखिएको छ । अटो शोको आकर्षण केवल उड्ने कारमा सीमित छैन । यसपटकको अटो शोमा युनिट्री रोबोट्स पनि प्रदर्शनीमा राखिने छन् ।
भोलि ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो, २०८२’ प्रविधिमा रुचि राख्ने, अटोप्रेमीहरू र भविष्यको यातायातबारे जान्न चाहनेहरूका लागि अझ विशेष सावित हुने बताइएको छ ।
FACEBOOK COMMENTS