नेपालको सन्दर्भमा गाडीसँगको हाम्रो सम्बन्ध त्यति लामो छैन । राणा प्रधानमन्त्री वीरशमशेरको पालामा वैज्ञानिकसमेत रहेका गेहेन्द्र शमशेरले काठमाडौंमा पहिलोपटक गाडी भित्र्याएका थिए ।
त्यो गाडी मकवानपुरको भीमफेदीबाट मानिसले बोकेर काठमाडौं ल्याएका थिए । टोनी हेगन स्वीट्जरल्यान्डको सुविधासम्पन्न ठाउँमा आफ्नो अध्ययन सकेर भूगर्भशास्त्रीका रूपमा पहिलोपटक नेपाल आउँदा भारतको कलकत्ताबाट अमलेखगञ्ज हुँदै नेपाल भित्रिएको कुरा नेपालको चिनारी नामक पुस्तकमा उल्लेख छ ।
सडकबिहीन युगबाट सुरू भएको नेपालको अटोमोबाइल यात्रा अहिले स्मार्ट मोबिलिटीसम्म आइपुगेको छ । गेहेन्द्र शमशेरले विलासिताका लागि नेपाल भित्र्याएको गाडीकै कारण देशमा सडक पूर्वाधार, प्रशासनिक सोच र समाजको जीवनशैलीमा गहिरो परिवर्तन ल्याएको जानकारहरू बताउँछन् । उक्त गाडी भित्रिएपछि चन्द्र शमशेरले काठमाडौंदेखि भक्तपुरसम्म मोटरबाटो निर्माण गराएको र त्यसपछि मात्रै न्यूरोडमा सडक बनाइएको इतिहास पाइन्छ । त्यस्तै, काठमाडौं–नौबीसे, काठमाडौं–त्रिशूली र काठमाडौं–धुलीखेल आदि ठाउँमा सडक बनेर मुलुकमा सडक पूर्वाधारको विकास भएको पाइन्छ ।
नेपालमा अटोमोबाइल क्षेत्रले पछिल्लो दशकमा आश्चर्यजनक गति लिएको छ । फलस्वरूप अहिले नेपालको सडक र यातायातको निकट इतिहास उड्ने कारसम्म जोडिन पुगेको छ । अटो उद्योगमा भइरहेको यो तीव्र प्रगतिको एउटा महत्वपूर्ण योगदानकर्ता बनेको छ, ‘नाडा अटो शो’ । सन् १९९८ देखि सञ्चालनमा आएको यो प्रदर्शनी आज नेपालको अटोमोटिभ क्षेत्रको दर्पण मात्र होइन, प्रविधि र नवप्रवर्तनको महत्त्वपूर्ण केन्द्रसमेत बनेको छ ।
यसैबीच नाडाको १७औँ संस्करणले नेपालको मोबिलिटी यात्रामा नयाँ इतिहास र आयाम थप्दै उड्ने कार अर्थात् फ्लाइङ ट्याक्सी भित्र्याएको छ । ‘गो फर मोर’ नाराका साथ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने शोमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै पहिलोपटक ‘फ्लाइङ ट्याक्सी’ दीपलको ईभीटोल सार्वजनिक गरेका छन् । एमएडब्ल्यू वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरूवात भएको सन्देश दिँदै ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङलाई नाडा अटो शोमा प्रदर्शनीमा राखेको हो । यसले अब अटोमोबाइल पृथ्वीमा गुड्ने साधन मात्र होइन, आकाश र भविष्यतर्फ लम्किएको सङ्केत दिएको छ ।
यस वर्षको शोमा ईभीको वर्चस्व झनै मजबुत देखिएको छ । टाटा, बीवाईडी, एक्सपेङ, आयोनजस्ता ब्राण्डहरूले जुन प्रकारको डिजाइन, दिगोपन र प्रविधि ल्याएका छन् त्यसले नेपालमा अब इन्धनको भविष्य भन्दा विद्युतीय गतिको भविष्य प्रबल बन्दैछ भन्ने देखाएको छ । साथै, यो शोले बीमा कम्पनी, बैङ्क, ग्यारेज उपकरण, स्पेयर पाट्र्स र लुब्रिकेन्ट कम्पनीहरूको सहभागितालाई पनि समेट्दै अटो उद्योगको समग्र इकोसिस्टमलाई एकै ठाउँमा ल्याएको छ । जसले दिगो, स्मार्ट र सुरक्षित सवारी भविष्यतर्फ सोच्न बाध्य बनाएको आभाष हुन्छ ।
तसर्थ नाडा अटो शो २०८२ केवल एक प्रदर्शनी मात्र नभइ एउटा महत्वपूर्ण आयाम र इतिहासको साक्षी र अनि सन्देश बनेको छ । नेपाल अब अटोमोटिभ नवप्रवर्तनको पृष्ठपोषक मात्र होइन, प्रयोगकर्ता पनि बन्न तयार छ । प्रयोगकर्ताहरू, व्यापारीहरू, नीतिनिर्माताहरू सबैले यो गतिको हिस्सा बन्नुपर्ने समय यही हो । सबैले बेलैमा साचौँ र परिवर्तनको रफ्तारलाई आत्मसाथ गरौँ ।
FACEBOOK COMMENTS