काठमाडौँ । लर्डबुद्ध एजुकेशन फाउण्डेशन एल.बी.ई.एफ.ले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ । स्नातक तहका छैटौँ तहमा आइटी अध्ययनरत विद्यार्थीहरूले विकास गरेका सफ्टवेयर, एआई आधारित उपकरण, साइबर सुरक्षा सम्बन्धी प्रणाली, क्लाउड लगायतका विभिन्न ५२ वटा सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो ।
लर्डबुद्ध एजुकेशन फाउण्डेशन परिसरमा भएको प्रदर्शनीको अवलोकन गर्दै नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले नेपाली विद्यार्थीहरू सूचना प्रविधिको क्षेत्रमा अब्बल रहेको प्रतिक्रिया दिनुभयो । विद्यार्थीहरूले विकास गरेका आइटी सफ्टवेयरहरूको व्यवसायीकरण र बजारीकरणका लागि सरकारसँग समन्वय गर्नुपर्ने थापाले बताउनुभयो ।
सूचना प्रविधिको तीव्र गतिमा विकास र विस्तार भईरहको अवस्थामा विभिन्न प्रकारका सफ्टवेयरहरू सरकारलाई नै आवश्यक पर्ने भएकाले नेपालमा आइटिको भविष्य उज्ज्वल रहेको थापाको भनाई छ । नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न आइटी क्षेत्रमा थप लगानी बढाउनुपर्ने नेता थापाले बताउनुभयो ।
विद्यार्थीहरूले विकास गरेको एआई प्रविधि, साइबर सेक्युरिटी, क्लाउड, तथा आई.ओ.टी प्रविधिमा अवलोकन कर्ताहरूको चासो देखिएको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष इ. पङ्कज जालाने बताउनुभयो ।
फाउण्डेशनले विद्यार्थीको सिर्जनात्मक पक्षलाई अघि ल्याउने प्रयास गरेको अध्यक्ष जालानले बताउनुभयो । विद्यार्थीलाई आत्मविश्वासी र व्यावसायिक रूपमा सक्षम बनाउन आइटी प्रोजेक्ट एक्स्पो आयोजना गरिएको अध्यक्ष जालानको भनाई छ ।
प्रदर्शनीमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सूचना प्रविधिमा रुचि राख्ने विभिन्न क्षेत्रका व्यत्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदर्शनीमा कलेजका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स एआइमा आधारित प्रविधिको विकास, ह्याकिङबाट बच्ने सुरक्षात्मक प्रणाली, शैक्षिक व्यवस्थापन प्रणाली जस्ता नवीनतम प्रविधिको सफल प्रदर्शन गरेका थिए ।
लर्डबुद्ध एजुकेशन फाउण्डेशनले हरेक वर्ष सिर्जनात्मक गतिविधिको माध्यमबाट विद्यार्थीलाई नयाँ खोज र प्रयोगमा प्रेरित गर्दै आएको छ । पछिल्लो प्रदर्शनीले पनि नेपालको आइटी शिक्षामा निहित क्षमतालाई उजागर गर्दै देशभित्रै नवप्रवर्तन गर्न सकिने सम्भावनालाई बलियो बनाएको अध्यक्ष जालानको भनाई छ ।
FACEBOOK COMMENTS