काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगले पुन: उत्पादन सुरु गरेको छ।
मेशिनमा समस्या आए पछि बैशाख देखि बन्द रहेको उद्योगको पुराना मेसिनहरूको मर्मत सम्भारको काम सकिएपछि उद्योग पुन: सञ्चालनमा आएको हो ।
त्यसैगरि उद्योगको प्रमुख समस्या भनेको मेसिन र कोइला आपूर्ति रहेको थियो । अहिले भने सिमेन्ट उत्पादन गरी बिक्री गरेर भुक्तानी गर्ने सर्तमा करिब १,००० टन कोइला व्यवस्थापन गरिएको उद्योगका पदाधिकारीले बताएका छन् ।
विसं २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको यो उद्योगले २०४३ सालदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन सुरु गरेको थियो। तर विगतका वर्षहरूमा आर्थिक समस्या, पुरानो प्रविधि, बजारको कमी, मूल्य समायोजनको अभाव, आवश्यक जनशक्ति नहुनुजस्ता समस्याका कारण उद्योग पटक–पटक बन्द हुने र सञ्चालनमा आउने चक्रमा फस्दै आएको छ।
यसअघि गत वैशाखको दोस्रो सातादेखि सञ्चालनमा आएर उद्योगले करिब १ लाख बोरा सिमेन्ट उत्पादन गरेको थियो। उद्योगसँग धादिङको जोगीमारा र मकवानपुरको ओख्रे, मजुवा, र भैँसे गरी चारवटा चुनढुङ्गा खानीहरू छन्, जसबाट कच्चा पदार्थ संकलन गरिन्छ।
उद्योगलाई दिगो रूपमा सञ्चालन गर्न अझै पनि धेरै चुनौतीहरू छन् । पुरानो उपकरण, प्रतिस्पर्धात्मक बजार, बजार विस्तारको अभाव, मूल्य स्थिरता नहुनु, र दरबन्दी अनुसार कर्मचारीको कमी जस्ता समस्याले निरन्तरता दिन कठिन बन्दै गएको छ । तर यस्ता समस्याका बाबजुट पनि उत्पादन पुन: सुरु हुनुले केही आशाको किरण देखाएको छ ।
FACEBOOK COMMENTS