काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलित उखु किसानका माग बारे कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग छलफल गरेका छन् ।
गगन थापाले कृषिमन्त्रीसँगको भेट बारे जानकारी दिदै कृषि तथा पशुपन्छी विकास मन्त्री र सम्बन्धित अधिकारीहरूसँग भेटेर मुख्यत: दुई विषयमा छलफल गरेको बताएका छन् ।
महामन्त्री थापाले पहिलो, अहिले तत्काल गर्नुपर्ने काम भनेको आन्दोलित किसानलाई सरकारले कबुल गरे अनुसारको उनीहरूको बिक्रीमा आधारित प्रोत्साहन अनुदान भुक्तानी नै भएको बताएका छन् ।
उनले बजेटको अभावका कुराहरू बाहिर आए पनि अवस्था त्यस्तो नरहेको उल्लेख गर्दै चालू आर्थिक वर्ष ८२/८३ को बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ’उखु कृषकहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७५ (संशोधन सहित) उखु उत्पादक कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने (गत आ.व. २०८१/८२ को समेत)’ शीर्षकमा २ अर्ब रुपैयाँ छुटाइएको बताएका छन् ।
यसबाट रकम निकासा गरी अविलम्ब प्रोत्साहन अनुदान रकम अन्तर्गत प्रतिक्विन्टलमा पाउने ७० रुपैयाँको दरले भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्ने उनको जोड छ । दोस्रो, किसानहरूको हितको सन्दर्भमा सरकारले कहिले एउटा निर्णय गर्ने र कहिले फिर्ता गर्ने गर्न नहुने भन्दै किसानहरूलाई पटक–पटक सडकमा आउने अवस्था सिर्जना गर्न नहुने बताएका छन् ।
उनले न्यूनतम मूल्यदेखि अनुदानसम्मलाई व्यवस्थित र्दै दीर्घकालीन समाधान निकाल्नका लागि विभिन्न सरोकारवालाहरूसँग बसेर बहु–आयामिक ढङ्गले काम गर्नुपर्ने बताएका छन् ।
महामन्त्री थापाले कृषि मन्त्रालयले यो दुवै विषयमा प्रस्ट रहेको र पहलकदमी गरी पनि रहेको आफुले पाएको बताउदै यो विषय कृषि मन्त्रालयको निर्णयले मात्र नटुंगिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विनियोजित बजेटबाट उखु किसानले पाउनुपर्ने रकम भुक्तानी गरी किसानलाई सडकबाट घर–खेतमा फर्कने वातावरण बनाउन र यो विषयको दीर्घकालीन समाधान खोज्न आवश्यक निर्णय गरी पहलकदमी लिन आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS