मेरिल्याण्ड । सुदूरपश्चिम नेपाली समाज, मेरिल्याण्डले यस वर्षको चौथो गौरा पर्व आउँदो आइतवार, भदौ १५ गते अगष्ट ३१, २०२५० का दिन भव्य रूपमा आयोजना गर्ने भएको छ ।
हिन्दु बुद्ध मन्दिर, ग्लेन आर्ममा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने यस कार्यक्रममा धार्मिक पूजा आराधनादेखि सांस्कृतिक प्रस्तुति र सामूहिक भोजसम्मको विविधता रहनेछ।
गौरा पर्व सुदूरपश्चिम नेपालको प्रमुख सांस्कृतिक र धार्मिक पर्वका रूपमा मानिन्छ। देवी गौराको पूजाआराधनाद्वारा परिवार र समाजमा एकता, सद्भाव र संस्कृतिको संरक्षण गर्ने परम्परा यस पर्वसँग जोडिएको छ।
महिलाहरूले उपवास गरी देवी गौराको पूजा गर्ने, समुदायले सामूहिक रूपमा देउडा गीत, गौरा नृत्य र परम्परागत बाजागाजासहित उल्लासपूर्वक रमाउने प्रचलन छ। यही परम्परालाई अमेरिकामा रहेका नेपालीहरूले निरन्तरता दिँदै आएका छन्।
समाजका अध्यक्ष विक्रम शाहीले गौरा पर्व केवल धार्मिक उत्सव मात्र नभई नेपाली समुदायलाई एकै ठाँउमा जोड्ने ऐतिहासिक अवसर भएको बताए। उनले भने, “गौरा पर्व हाम्रो मौलिक सांस्कृतिक धरोहर हो।
यसलाई अमेरिकाजस्तो बहुसांस्कृतिक समाजमा पनि निरन्तरता दिनु हाम्रो जिम्मेवारी हो। यस वर्षको कार्यक्रमलाई हामी अझै भव्य बनाउन विशेष तयारी गरिरहेका छौँ।
पूजाआराधनासँगै विविध सांस्कृतिक प्रस्तुति, परम्परागत बाजागाजा, देउडा नृत्य र बालबालिकादेखि युवासम्मको सहभागिताले यसलाई स्मरणीय बनाउनेछ।”
कार्यक्रममा गौरी पूजा तथा दूधढुंगाको अभिषेक, कलश यात्रा, सांस्कृतिक प्रस्तुति र सामूहिक शाकाहारी भोजसमेत हुनेछ।
आयोजकहरूले सम्पूर्ण नेपाली समुदायलाई यस अवसरमा सहभागी भई आफ्नो मौलिक परम्परा जगेर्ना गर्न आग्रह गरेका छन्।
FACEBOOK COMMENTS