काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन जनालाई मन्त्री नियुक्त गरेपछि उनीहरुले शपथ लिएर कार्यभार समेत सम्हालिसकेका छन् ।
अर्थमन्त्रीमा नियुक्त भएका रामेश्वर खनालले कार्यभार सम्हाल्दै आफूले सेवा सुविधा र सचिवालयका कर्मचारी नलिने बताए । उनले मन्त्री नियुक्त हुनुअघि नै सेवासुविधा नलिने पूर्वशर्त राखेको बताइएको छ । उनले एकजना सवारीचालक र एक दुई जना सचिवालयमा कर्मचारी बाहेक नचाहिने बताए ।
त्यस्तै, ऊर्जासहित तीनवटा मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले पनि आफ्नो तलब भत्ता सहिद परिवारको नाममा बन्ने कोषमा दिने घोषणा गरे ।
आम रुपमा नयाँ मन्त्रीका यी घोषणालाई सस्तो लोकप्रियताको लागि गरिएको त होइन भन्दै खबरदारी सुरू भएको छ । काम गरेपछि सरकारले नियम अनुसार लिने सेवा सुविधा लिनु अन्यथा होइन । तर, जेनजी आन्दोलनको जगमा बनेको सरकार र यसका मन्त्रीहरुले आन्दोलनको म्यान्डेट अनुसार काम गर्न सुरू गरे कि गरेनन् वा भविष्यमा गर्छन् या गर्दैनन् भन्ने कुरा महत्वपूर्ण हो ।
अहिले तलब भत्ता लिन्न भन्ने कुरा महत्वपूर्ण होइन यो केबल मिडिया स्पेस लिने र सहानुभूतिका लागि हो भने त्यो झनै नराम्रो हुन जान्छ ।
यसै प्रसङ्गमा संगीतकार तथा गायक काली प्रसाद बास्कोटाले सटिक टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘तलब लिए लिनुस्, नलिए नलिनुस्, यो मूल मुद्दा अहिले होइन । सबैलाई मिलाएर लैजाने अनि म्यान्डेट अनुसारको काम गर्नुस् । समय छैन ।’
FACEBOOK COMMENTS