काठमाडौं । नेपाल लिफ्टस प्रालिले गएको जेन्जी आन्दोलनका क्रममा भवनहरुमा भएको तोडफोड तथा आगजनीमा परेर बिग्रिएका लिफ्ट तथा एस्केलेटर्सको नि:शुल्क मर्मत सम्भार गर्ने घोषणा गरेको ।
एसिया फुजी एलिभेटरको आधिकारिक बिक्रेताको रुपमा नेपालमा एलिभेटर तथा एस्केलेटरको ब्यापार दुई दशक यता गर्दै आएको नेपाल लिफ्ट्सले एसिया फुजीसँगको सहकार्यमा यो अभियान अगाडि सारेको हो ।
‘सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियान अगाडि बढाउने हामीले निर्णय गरेका छौँ,’ नेपाल लिफ्टस्का प्रबन्ध निर्देशक निरज श्रीवास्तव भन्छन्, ‘जेन्जी आन्दोलनले देश परिवर्तनको कोशिस गरेको छ, आन्दोलनका क्रममा भौतिक क्षति हुनु दु:खद भए पनि यो भैसक्यो अब देशलाई पुनर्निर्माणको खाँचो छ । जसमा हामी सहयात्री बन्न चाहन्छौँ ।’
जेन्जी आन्दोलनका क्रममा क्षति भएका सबै सरकारी तथा निजी भवनका लिफ्टहरुको आवश्यक मर्मत सम्भार नेपाल लिफ्टस्ले गर्ने भएको हो । यस क्रममा नेपाल लिफ्टस्ले निर्माण तथा आपूर्ति गरेका सबै लिफ्टको मर्मत सम्भार पूर्णरूपले नि:शुल्क गर्नेछ भने नेपाल लिफ्ट तथा एसिया फुजीबाहेकका लिफ्टको हकमा भने मर्मत सम्भारमा लाग्ने स्पेयर्स पार्टस् सम्बन्धित कम्पनी वा भवन धनीले उपलब्ध गराउनु पर्ने छ ।
तर, यसको मर्मतमा लाग्ने सम्पूर्ण शुल्क तथा प्राविधिक जनशक्ति नेपाल लिफ्टस्ले उपलब्ध गराउनेछ । यसका लागि नेपाल लिफ्टसको हटलाईन ९८५१०३८७७६ वा ९८५१२३८७७६ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । देशमा भएको यो आन्दोलनको क्रममा दुईसय भन्दा बढी एस्केलेटर तथा एलिभेटर्समा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS