काठमाडौं । झापा इनर्जी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट आज सम्पन्न भएको छ।
बिक्री प्रबन्धक हिमालयन क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत बाँडफाँट प्रक्रिया सम्पन्न गरेको हो।
कुल १८ लाख ३३ हजार ७३८ वटा स्वीकृत आवेदनमध्ये ४७ हजार ३३३ जना मात्र भाग्यमानी बनेका छन्। तीमध्ये ६ जनाले ११ कित्ताका दरले, बाँकीले १० कित्ता सेयर प्राप्त गरेका छन्।
यस क्रममा १७ लाख ८६ हजार ४०५ लगानीकर्ता भने सेयर नपाई खाली हात परेका छन्।
आईपीओको नतिजा हेर्न इच्छुक लगानीकर्ताले iporesult.cdsc.com.np मा गएर आफ्नो विवरण जाँच गर्न सक्नेछन्।
झापा इनर्जीले भदौ २० गते सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। कम्पनीले झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना निर्माण गरिरहेको छ। आयोजनाको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ, जसअनुसार प्रति मेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ पर्छ।
कम्पनीको विद्युत उत्पादन अनुमति पत्र अझै २२ वर्ष बाँकी छ भने इक्विटीमा लगानी फिर्ता हुने अनुमानित अवधि ९.५५ वर्ष रहेको छ।
तर वित्तीय पक्षको कुरा गर्दा, अवस्था यति सहज छैन। झापा इनर्जीले इक्रा नेपालबाट ‘बी माइनस’ क्रेडिट रेटिङ पाएको छ। गएको आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रति सेयर आम्दानी (EPS) ऋणात्मक ४ रुपैयाँ ७२ पैसा रहेको छ। त्यस्तै प्रति सेयर नेटवर्थ ९५ रुपैयाँ ४० पैसा छ भने सञ्चित नोक्सानी १ करोड ३१ लाख रुपैयाँ रहेको छ।
यद्यपि, नवीकरणीय ऊर्जामा लगानी बढ्दै गइरहेको सन्दर्भमा झापा इनर्जीको दीर्घकालीन सम्भावनाप्रति धेरै लगानीकर्ता आशावादी देखिएका छन्।
FACEBOOK COMMENTS