काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री सुशिला कार्कीले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचनमा भाग लिन सबै देशबासीलाई आव्हान गरेकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न सबैको सहयोग आवश्यक रहेको भन्दै सहयोगका लागि अपिल समेत गरेकी छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले ६ महिनाको कार्यादेश पाएको सरकारले आन्दोलनको मर्म अनुसारका सबै काम गर्न सम्भव नभएको भन्दै सकेसम्मका काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले सेवाग्राहीसँग पैसा माग्ने, नराम्रो व्यबहार गर्ने गरेको पाइएमा तिनै तहका सरकारमा उजुरीको लागि हटलाइनको व्यवस्था गरेकी छन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा कतिपय संबिधानमा रहेका व्यवस्था बाहिरका विषयलाई निर्वाचनमा भाग लिएर नयाँ संसदबाट संबिधान संसोधन गरेर पुरा गर्न आग्रह गरेकी छन् । साथै प्रधानमन्त्री कार्कीले आन्दोलनको क्रममा भएका सरकारी संरचनाको पुनर्निमाण गर्न सरकारले खडा गरेको कोषमा सहयोग गर्न देश र विदेशमा रहेका सबै नेपाली नागरिकलाई आव्हान गरेकी छन् ।
उनले आन्दोलनका क्रममा भएका लुटपाट, तोडफोड, आगजनी, दमनको छानबिन गर्न आयोग गठन गरेको, आन्दोलनका क्रममा नेताहरुको घरमा भेटिएका रकमको बारेमा छानबिन शुरु भएको र विगतमा भएका भ्रष्टाचारका प्रकरण बारे पनि सरकारले छोटो सहयोगमा जानकारी हासिल गरेको र यसमा सरकारले कारवाही थाल्ने बताएकी छन् । प्रधानमन्त्री कार्कीले युवा पुस्ताको भावना अनुसार सबै राष्ट्र सेवक कर्मचारीलाई आफुलाई परिवर्तन गरेर सेवा दिन आग्रह गरेकी छन् ।
२- निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई मातृशोक परेको छ । लेखककी ८९ वर्षीया आमा शारदादेवी लेखकको बिहीबार अपराह्न निधन भएको छ । उनको काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको परिवार निकटले जानकारी दिएका छन् । उनका लेखक एक्ला छोरा हुन् भने चार छोरी रहेका छन् ।
३- बंगालदेश जारी साफ यू-१७ पुरुष च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पाकिस्तानलाई २-० गोल अन्तरले पराजित गर्दै बंगालादेश फाइनलमा प्रवेश गरेको हो । बंगालदेशको जितमा नाज्मुल हुडा फैसल र मोहम्मद ओपु रहमानले एक एक गोल गरेका थिए । बगांलदेशले अब नेपाल वा भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा खेल्ने छ । नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल खेल आजै राति ७:४५ बजेदेखि हुने तालिका रहेको छ ।
४- अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पुन: सूचना विभागबाटै हुने भएको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारको निर्णय उल्ताउदै अनलाइन सञ्चारमाध्यामको दर्ता र नवीकरण सूचना विभागबाटै हुने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले यस्तो जानकारी दिएका छन् । त्यस्तै आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्तामा सञ्चारमन्त्रीलाई तोकेको छ ।
५- मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य फ्लड लाइट जडान गरेर जारी रहेको छ । सडक डिभिजन कार्यालय भरतपुरले फ्लड लाइटको व्यवस्था गरेर राति पनि तुइन खोलाको पहिरो पन्छाउने कार्य गरिरहेको बताएको छ । पहिरो पन्छाउने कार्य हाल अन्तिम चरणमा रहेको र थप पहिरो नआएमा आजै राति सडक सुचारु हुने सम्भावना रहेको छ । मंगलबार दिउसो ठुलो पहिरो खसेर अवरुद्ध रहेको मुग्लिन नारायणगढ सडक हालसम्म अवरुद्ध रहेको छ ।
५- निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने भएको छ । बिहीबार बसेको आयोगको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेपछि आयोगले यस्तो निर्णय गरेको हो । आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुमा दर्ता गर्न सकिने जानकारी दिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्यादेश रहेको छ । निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने कानुनी व्यवस्थालाई सरकारले अध्यादेश ल्याएर सो व्यवस्था संशोधन गरेर जेनजी युवाहरुले मतदान गर्न पाउने व्यवस्था गर्न लागेको हो ।
६- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पद छोड्न दबाब परेको छ । विहिबारदेखि काठमाडौँकोप प्रज्ञा भवनमा शुरु भएको केन्द्रीय समितिको बैठकमा वरिष्ठ उपाध्याक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई पद छोड्न दबाब दिएका हुन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफुलाई कार्यवाहक अध्यक्ष दिन प्रचण्डसँग माग गरेका हुन् । प्रचण्डले हालको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति भंग गरेर मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेपनि श्रेष्ठले मङ्सिरमा विशेष महाधिवेशन सम्भव नभएको भन्दै बदलिएको अवस्थामा प्रचण्डले अहिलेनै नेतृत्व छोड्नुपर्ने बताएका हुन् ।
श्रेष्ठले अहिलेनै नेतृत्व छोडेर आफुलाई कार्यवाहक दिन आग्रह गरेका छन् । त्यस्तै उपमहासचिव जनार्दन शर्माले पनि जनताले सुन्ने गरि नयाँ अनुहारले पार्टीको नेतृत्व गर्नुपर्ने भन्दै प्रचण्डलाई नेतृत्व छोड्न दबाब दिएका हुन् । एक केन्द्रीय सदस्यका अनुसार शर्माले अहिले प्रचण्डले गरेको अपिल जनताले सुन्ने अवस्था नरहेको भन्दै कमीकमजोरी स्वीकार गरेर नेतृत्व नयाँ पुस्तालाई सुम्पिन सुझाव दिएका थिए । साथै शर्माले बैठकमा सबै पदाधिकारीले सामुहिक राजीनामा दिएर आगामी महाधिवेशनमा चुनावमा सहभागी नहुने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका थिए ।
उनले अहिलेकै नेतृत्व दोहोरिने महाधिवेशन स्वीकार्य नहुने स्पष्ट गरेका थिए । प्रचण्डले नयाँ परिस्थितिमा विशेष महाधिवेसन गर्न तयार भएपनि अध्यक्ष छोड्न भने तयार नदेखिएको बताइएको छ । करिब ३६ बर्षदेखि नेतृत्वमा रहेका प्रचण्ड आफ्नो राजनीतिक जीवनमा पार्टीमा अहिले जेनजी आन्दोलनपछि सबै भन्दा बढी दबाबमा रहेको विश्लेषण उनका समर्थकबीच हुन लागेको छ ।
७- अर्को महिना वेस्टइन्डिज विरुद्ध हुने दुई खेलको टेस्ट सिरिजको लागि भारतीय टोलीको घोषणा गरिएको छ । सिरिजका लागि शुभमन गिलले भारतीय टोलीको कप्तानी गर्नेछन् भने रवीन्द्र जडेजा उपकप्तान हुनेछन् । भारत र वेस्ट इन्डिज बीचको दुई खेलको सिरिजको पहिलो खेल अक्टोबर २ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ । इङ्गल्याण्डविरुद्धको पाँच खेलको सिरिज पछि यो भारतीय टोलीको पहिलो टेस्ट खेल हुनेछ । भारतीय टिम: शुभमन गिल (कप्तान), रविन्द्र जडेजा (उपकप्तान), ध्रुव जुरेल र एन जगदीशन (विकेट किपर ), यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, देवदत्त पाडिकल, वाशिंटन सुन्दर, जसप्रित बुमराह, अक्षर पटेल, नितीश कुमार रेड्डी, मोहमद सिराज, प्रसिद्ध कृष्ण र कुलदीप यादव ।
८- अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त गरेको छ । विहिबार एन्फाले २०२६ को साफ च्याम्पियनसिपसम्मका लागि न्यौपानेलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो । त्यस्तै एन्फाले नेपाली महिला टिमको सहायक प्रशिक्षकमा भगवती थापा र राज कुमार केसी नियुक्त गरेको छ भने वृन्दा देवानलाई टिम व्यवस्थापक, शिला गिरी र विकास गुरुङले क्रमशः फिजियोथेरापिस्ट र किट व्यवस्थापकको जिम्मेवारी दिइएको छ । न्यौपानेले यसअघि पुरुष टिमको यु-२३ प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आगामी महिना भारतको सिक्किममा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ भने त्यसपछि इन्डोनेसियामा नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म इन्डोनेसिया र चाइनिज ताइपेइसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको छ ।
९- आज नेप्सेमा सामान्य गिरावट आएको छ । विहिबार नेप्से २.३५ अंकले घटेर २६५२ विन्दुमा पुगेर रोकिएको छ । आज ३२७ कम्पनिका ७९ लाख ५३ हजार ७४० कित्ता शेयर ३ अर्ब २६ करोड ४ लाख ४० हजार ६०४ मा कारोबार भएको थियो । आज बैंकिङ, लगानी, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ । आज हिमस्टार उर्जाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिटी होटल्सको सबैभन्दा बढी ४.५५ प्रतिशतले गिरावट आएको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३० करोड ९ लाख र युनियन हाइड्रोको शेयर १८ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।
१०- भारतीय पुर्व स्पीनर आर आश्विन अस्ट्रेलियाको बिग बास लिग खेल्ने भएका छन् । आश्विनले सिड्नी थण्डरबाट बिग बास लिग खेल्न सम्झौता गरेका छन् । सिड्नी थण्डरले आश्विनसँग दुई बर्षको सम्झौता गरेको छ । योसँगै आश्विन अस्ट्रेलियाको बिग बास लिग खेल्ने पहिलो भारतीय खेलाडी पनि बनेका छन् । आश्वीनले यस सिजनको लिगमा अन्तिम तीन खेल र प्लेअफका खेल खेल्ने बताइएको छ भने त्यसपछि अर्को दुई सिजन खेल्ने गरि सम्झौता भएको रिपोर्टमा उल्लेख छ । आश्विनले यसअघि आइपिएलबाट पनि सन्यास लिदै विदेशी टी-२० लिग खेल्ने आफ्नो बाटो ढोका खोलेका थिए । भारतीय क्रिकेट बोर्डले राष्ट्रीय टिम र आइपिएलबाट सन्यास नलिएसम्म भारतीय खेलाडीलाई विदेशी लिग खेल्न अनुमति नदिने हुनाले उनले गत बर्षनै आइपिएलबाट सन्यास लिएका थिए ।
११- नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान नेतृत्वको सम्मानसहित पार्टी पुनर्गठन गर्ने बताएका छन् । विहिबार भिडियो सन्देश जारी गर्दै सचिव भट्टराईले नयाँ अवस्थामा पार्टी र आन्दोलनको पुनर्गठन गरिरहदा इतिहासको वेवस्ता र अपमान कदापी गर्न नहुने भन्दै वर्तमान नेतृत्वको सम्मान सहित पुनर्गठन गर्नुपर्ने बताएका हुन् । उनले इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार भएको भन्दै पुनर्गठन र रुपान्तरणको आवाजलाई नेताहरुमाथिको प्रश्न अथवा अपमानको रुपमा अर्थ लगाउनु सर्बथा गलत हुने बताएका छन् ।
१२- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्विट्जरल्याण्डकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् । भेटमा स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, अल्पकालीन र दीर्घकालीन रुपमा सहयोग गर्न सकिने क्षेत्रहरु, स्विस लगानी, द्धिपक्षीय सहयोग लगायतका विषयमा छलफल भएको थियो ।
स्विस सरकारबाट नेपालको विकासमा उपलब्ध गराइएको सहायताका लागि धन्यवाद दिंदै मन्त्री घिसिङले जेनजी आन्दोलनपछि गठित सरकारको प्रमुख प्राथमिकता चुनाव, आन्दोलनका कारण क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माण र सुशासन कायम गर्दै युवामा आशा जगाउने रहेको उल्लेख गरेका थिए । उनले विद्युतीय सवारी साधन प्रवद्र्धन, घरयासी प्रयोजनमा विद्युत्लाई इन्धनको रुपमा प्रयोग गर्न प्रोत्साहन, स्विट्जरल्याण्डले सडक यातायातमा प्रयोगमा ल्याएको सुरुङ प्रविधिलाई नेपालमा अनुशरण, हरित हाइड्रोजन ऊर्जाको प्रवर्धन, साना उद्योग स्थापनामार्फत रोजगारी सिर्जना गर्न आवश्यक तालिमका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए । हाल स्विस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारमूलक सीप विकास तालिमलगायतका कार्यक्रम सञ्चालित छन् । राजदूत मेउलीले नेपाल ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सँधै तयार रहेको बताएकी थिइन् ।
१३- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुले युवालाई अवसर दिन नेतृत्व छोड्ने प्रस्ताव राखेको भन्दै वैकल्पिक राजनीति नछोडेको स्पष्ट गरेका छन् । विहिबार पत्रकार सम्मेलन गर्दै डा.भट्टराईले जेनजी आन्दोलनपछिको परिस्थिति विश्लेषण गर्दै आफुले युवालाई अगाडी बढाउन नेतृत्व छोड्ने प्रस्ताव गरेको बताएका हुन् । उनले पद त्याग गरेर पार्टी भन्दा माथि उठेर योगदान गर्ने बताउदै देशमा आएको नयाँ उत्साहलाई सहि दिशामा लैजानु पर्ने बताए ।
जेनजी आन्दोलन विदेशीले गरेको भन्ने भाष्य सिर्जना गर्न खोजिएको भन्दै डा.भट्टराईले यो आन्दोलन नेपाली जेनजी युवाहरुको मौलिक आन्दोलन भएको टिप्पणी गरेका छन् । तीन नेताहरुले पालै पालो सत्ताको खेल खेलेका कारण युवाहरुले निराश भएर आन्दोलन गरेको भन्दै यसलाई विदेशी शक्तिले गरेको भन्दै अवमुल्यन नगर्न सबैमा आग्रह गरेका छन् । डा. भट्टराईले सधै युवाहरुको मागप्रति आफ्नो ऐक्यवद्धता व्यक्त गरेका छन् । उनले जेनजी आन्दोलनकर्ता युवाहरुलाई सरकारसँग वार्ता गरेर चुनाव अघि आफ्ना माग बारे ठोस सहमति गर्न पनि अपिल गरेका छन् । उनले भ्रष्टाचारका घटनाको छानबिन गरेर कारवाही गर्न र अध्यादेशबाट संबिधान संशोधन गरेर युवाहरुका माग अनुसार प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्न पनि सल्लाह दिएका छन् । उनले कांग्रेस, एमाले र माओवादीको नेतृत्वमा रहेका नेताहरु अझै पनि नसुध्रिने दाबी गर्दै आफुले भने नेतृत्व छोडेर अभिभावकको भूमिका निभाउने बताए ।
१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको १७ सयले घटेर तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ । यस अघि बुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २६८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २७०० मा कारोबार भएको थियो ।
१५- मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह अल्पमतमा परेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह अल्पमतमा परेका हुन् । बुधबार कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको थियो । कांग्रेसले समर्थन फिर्ता लिएपछि मधेश सरकारलाई अहिले एमालेका २४, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ७ र मुख्यमन्त्री सतीशकुमार सिंह गरी ३२ सांसदको मात्र समर्थन छ । मुख्यमन्त्री सिंहको जनमत पार्टीले पनि आफ्नै दलको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेस सभामा बुझाइसकेको छ । मंगलबारको प्रदेशसभा बैठकमा पनि मुख्यमन्त्री सिंहबाहेक जनमतका सबै सांसद विपक्षी बेञ्चमा बसेका थिए ।
कांग्रेसले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारको विपक्षमा ७२ सांसद देखिएका छन् । जसमा कांग्रेसका २२, जसपा नेपालका १९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, जनमतका १२, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाको एक-एक गरी ७२ सांसद विपक्षमा छन् । सरकार अल्पमतमा परेपछि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुनः सरकारको प्रक्रिया अगाडि बढ्ने भएको छ । राजीनामा दिन अस्वीकार गर्दै आएका र विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री सिंहको रणनीतिमा कांग्रेसले समर्थन फिर्ता लिएपछि धक्का पुगेको छ । नयाँ परिस्थितिमा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस सरकारको नेतृत्व गर्ने तयारीमा जुटेको छ भने एमाले र लोस्पा पनि सरकारको नेतृत्व गर्ने गरि गठबन्धन बनाउन जुटेको छ ।
१६- अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले न्यूयोर्क सिटीविरुद्ध फराकिलो जित हासिल गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्यूयोर्क सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने भने बाल्टासार रोड्रीगेज र लुइस स्वरेजले एक एक गोल गरेका थिए । यो जितपछि इन्टर मियामी लिगको इस्टर्न कन्फेरेन्समा २९ खेलमा ५५ अंक रहेको इन्टर मिलान लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै न्यूयोर्क सिटीको ३१ खेलमा ५३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
१७- सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरेको छ । गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो । प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । रिजालमाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गोली चलाउने आदेश दिएको आरोप थियो । सरकारले आन्दोलनमा दमन गरेको आरोप लागेका काठमाडौंको प्रहरी प्रमुख पनि फेरेको थियो । यसअघि सरकारले मंगलबार एकैपटक गृह सचिव गोकर्णमणि दुवाडीको समेत सरुवा गरेको थियो ।
१८- स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले रायो भल्लेकानोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले रायो भल्लेकानोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । एटलेटिकोको जितमा जुलियन अल्भारेजले ह्याट्रिक गरेका थिए । उनले खेलको १५औं, ८०औं र ८८औं मिनेटमा गोल गरेका थिए । त्यस्तै रायो भल्लेकानोकालागि पेप चाभारिया र अल्भारो ग्रासिया रिभेराले एक एक गोल गरेका थिए । यो जितपछि एटलेटिको म्याड्रिडको ६ खेलमा ९ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ । त्यस्तै रायो भल्लेकानोको ६ खेलमा ५ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।
१९- भारतले बंगलादेशलाई ४१ रनले पराजित गर्दै एसिया कपको फाइनलमा प्रवेश गरेको छ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा बुधबार राति सम्पन्न खेलमा भारतले दिएको १६९ रनको लक्ष्य पछाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुदै १२७ रन मात्र बनायो र खेलमा हार बेहोरेको थियो । उसका लागि सैफ हसनले सर्वाधिक ६९ रन बनाए । यसैबीच, भारतका लागि कुलदीप यादवले तीन विकेट लिए भने जसप्रीत बुमराह र वरुण चक्रवर्तीले दुई विकेट लिए । यसबाहेक अक्षर पटेल र तिलक वर्माले एक-एक सफलता पाए । भारत अपराजित रहँदै एसिया कपको फाइनलमा प्रवेश गरेको छ । भारतको अब सुपर फोरको एउटा खेल बाँकी छ, सेप्टेम्बर २६ मा श्रीलंकासँग खेल्ने तालिका छ । यो खेल फाइनल अघि भारतीय टोलीको लागि अभ्यास खेलको रूपमा हुने भएको छ, किनकी श्रीलंकाको सुपर फोरका दुवै खेल हारेर फाइनलको सम्भावना सकिएको छ । भारत सुपर फोर अंक तालिकामा चार अंक र १.३५७ को नेट रनरेटका साथ शिर्ष स्थानमा छ । पाकिस्तान र बंगलादेश क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । बिहीबार दुई टोलीबीचको खेल सेमिफाइनल सरह भएको छ । यस खेलको विजेताले सेप्टेम्बर २८ मा फाइनलमा भारतसँग खेल्नेछ ।
२०- प्यालेस्टिनी लडाकु समूह हमासद्वारा अपहरण भई विगत २४ महिनादेखि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधबार अमेरिका प्रस्थान गरेका छन् । यसअघि उनीहरू इजरायल पुगेर सम्बन्धित निकायहरूसँग प्रत्यक्ष भेटघाट गरिसकेका थिए। तर ठोस प्रगति नदेखिएकाले थप पहलका लागि संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्ने उदेश्यले अमेरिका गएका हुन् ।
आमा–छोरीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूसँग भेट गरी छिटोभन्दा छिटो विपिनलाई सकुशल उद्धार गर्न दबाब सिर्जना गरिदिन आग्रह गर्ने जनाइएको छ । विपिन जोशी कञ्चनपुर निवासी हुन् र सन् २०२३ मा कृषि तालिमका लागि इजरायलको किब्बुज आलुमिम पुगेका थिए। उनी २०८० असोजमा इजरायल–हमास युद्धका क्रममा अपहरणमा परेका थिए र हालसम्म उनको अवस्था अज्ञात रहेको छ। नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको भए पनि अहिलेसम्म ठोस नतिजा आउन सकेको छैन। परिवार निरन्तर अपील र पहलमा सक्रिय छ र अन्तर्राष्ट्रिय सहयोगका लागि सार्वजनिक अपिल जारी राखेको छ । जोशी परिवारले गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीलाई भेटी विश्वव्यापी पहल गर्न आग्रह गरेका थिए।
त्यसपश्चात संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले अमेरिका बसाइका लागि आवश्यक सहजीकरणको प्रक्रिया अघि बढाएका थिए । अमेरिका बसाइमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद् अमेरिकाले प्रत्यक्ष सहजीकरण गर्नेछ। क्षेत्रीय संयोजक वेद बस्नेत, एनसीसी अमेरिकाका अध्यक्ष बिकाश उप्रेती, आईसीसी सदस्य विष्णु रानामगर, महेश खड्का लगायतको सक्रियतामा उनीहरुलाई सहयोग पुर्याउन र आवश्यक कार्यक्रम सञ्चालन गर्न तयारी गरिएको छ । यसअघि गैरआवासीय नेपाली संघ इजरायलले पनि त्यहाँ विशेष कार्यक्रम आयोजना गरी जोशी परिवारप्रति समर्थन जनाउँदै विपिनको रिहाइका लागि ऐक्यबद्धता व्यक्त गरेको थियो । यस्तै, मध्यपूर्वका विभिन्न राष्ट्रहरूमा समेत कूटनीतिक पहल तथा छलफलका लागि गैरआवासीय नेपाली संघले सहजीकरण गर्नेछ ।
FACEBOOK COMMENTS