काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूसँग स्थायी लेखा नम्बर (प्यान) माग गरेको छ ।
आफ्नो बैंकमा खाता सञ्चालन गरिरहेका ग्राहकसँग प्यान नम्बर माग गरिएको बैंकले जनाएको छ ।
बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एप ‘मोबैंक’मा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न बैंकले उर्दी गरेको छ । साथै, आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट समेत उक्त नम्बर अध्यावधिक गर्न सकिने बताइएको छ ।
ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले ग्राहकहरूसँग प्यान नम्बर माग गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवम् प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।
उनका अनुसार एनआईसी एसिया बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनाका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।
प्यान अद्यावधिक नगराएको कारणले ई–टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरे बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैंकले अनुरोधसमेत गरेको छ ।
FACEBOOK COMMENTS