काठमाडौं । फ्रान्सका प्रधानमन्त्रीले नयाँ मन्त्रिपरिषद्को घोषणा गरेको १२ घण्टापछि नै पदबाट राजीनामा दिएका छन् । फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले २६ दिनमै राजीनामा दिएका छन् ।
उनले सेप्टेम्बर ९ मा प्रधानमन्त्रीको पद सम्हालेका थिए । अक्टोबर ६ मा राजीनामा दिए । राष्ट्रपति इमानुएल म्याक्रोनले उनको राजीनामा स्वीकृत गरेका छन् ।
प्रधानमन्त्री लेकोर्नुले आइतबार नयाँ मन्त्रिपरिषद्को घोषणा गरेका थिए । तर, १२ घण्टापछि नै राजीनामा दिएर सबैलाई चकित पारेका छन् ।
लेकोर्नु १३ महिनाभित्र देशका चौथो प्रधानमन्त्री थिए । यसअघिका प्रधानमन्त्री फ्राँस्वा बायरूले विश्वासको मत नपाएपछि सेप्टेम्बरमा राजीनामा दिएका थिए ।
३९ वर्षका लेकोर्नुलाई राष्ट्रपति म्याक्रोनको निकट सहयोगी मानिन्छ । उनी सन् २०२२ मा म्याक्रोन दोस्रो पटक राष्ट्रपति बनेपछि पाँचौ प्रधानमन्त्री थिए । गत वर्ष संसद् भंग भएपछि तेस्रो प्रधानमन्त्री थिए ।
विपक्षले माग्यो म्याक्रोनको राजीनामा
लेकोर्नुको राजीनामाले फ्रान्सको राजनीतिमा गहिरो संकट उत्पन्न गरेको छ । सदनमा कुनै पनि पार्टीको स्पष्ट बहुमत नभएका कारण यो स्थिति आएको हो ।
उग्र दक्षिणपन्थी नेतृ मरिन ले पेन र अन्य विपक्षी नेताहरूले स्थिर सरकार गठनका लागि नयाँ संसदीय चुनावको माग गरेका छन् । ले पेनले म्याक्रोनले राजीनामा दिनु नै बुद्धिमानी हुने बताइन् । यद्यपि, म्याक्रोनले यसअघि नै राजीनामा नदिने घोषणा गरिसकेका छन् ।
लेकोर्नुको राजीनामाको पछाडि उनको नयाँ मन्त्रिपरिषद् गठनलाई लिएर भएको असन्तुष्टि मुख्य कारण मानिएको छ । म्याक्रोनको सहयोगी पार्टी लेस रिपब्लिकन्सले नयाँ मन्त्रिपरिषद्मा कुनै पनि परिवर्तन नभएको बताए । तर, लेकोर्नुले नयाँ सुरुवात गर्ने बताएका थिए ।
आइतबार साँझ मन्त्रिपरिषद्को घोषणा भएपछि सबै राजनीतिक दलले यसको आलोचना गरेका थिए । सात वर्षसम्म म्याक्रोनको अर्थमन्त्री रहेका ब्रुनाले मायेरलाई रक्षामन्त्री बनाइएपछि सबैभन्दा ठूलो विवाद भएको थियो ।
मरिन ले पेनको दक्षिणपन्थी पार्टी नेसनल र्यालीले राष्ट्रपति म्याक्रोनसँग संसद् भंग गरेर नयाँ चुनाव गराउन माग गरेको छ । वामपन्थी पार्टी फ्रान्स अनबोडले म्याक्रोनले आफैँ राजीनामा दिनुपर्ने बताएको छ ।
फ्रान्समा किन बारम्बार प्रधानमन्त्री पविर्तन भइरहेका छन् ?
फ्रान्समा बारम्बार प्रधानमन्त्री परिवर्तन हुनुको कारण २०२४ को आम चुनाव हो । त्यो बेला फ्रान्सको संसद् तीन भागमा वामपन्थी, अति दक्षिणपन्थी र म्याक्रोनको केन्द्र–दक्षिणपन्थी गठबन्धनमा विभाजित भएको थियो ।
कसैसँग पनि स्पष्ट बहुमत थिएन, त्यसैले कुनै पनि नीति वा बजेट पारित गराउन कठिन भयो । लेकोर्नुलाई सरकारी खर्च घटाउन र घाटा नियन्त्रण गर्न सकिने बजेट पारित गराउनुपर्ने जिम्मेवारी दिइएको थियो ।
तर, यो काम उनीभन्दा अघिका दुई प्रधानमन्त्री फ्राँस्वा बायरू र मिशेल बार्नियरले पनि गर्न सकेका थिएनन् । संसद्मा यस विषयलाई लिएर हरेक गठबन्धनको फरक–फरक राय थियो, जसले गर्दा कुनै सम्झौता हुन सकेन ।
अब म्याक्रोनका सामु तीन विकल्प छन्, तर तीनै कठिन भएको बताइएको छ । पहिलो विकल्पमा नयाँ प्रधानमन्त्रीको छनोट गर्ने चुनौती छ । उनको आफ्नै खेमाबाट कुनै नेता छान्न मुस्किल छ ।
यदि, उनले कुनै वामपन्थी नेतालाई छान्दा उनको पेन्सन सुधार जस्ता नीतिहरू खतरामा पर्न सक्छन् । उनले कुनै अति दक्षिणपन्थी नेता छान्दा वामपन्थी दलहरू भड्किन सक्छन् ।
केही विशेषज्ञहरूले अब म्याक्रोनले कुनै ‘टेक्नोक्रेट’लाई प्रधानमन्त्री बनाउनुपर्ने सुझाव दिएका छन्, जसले राजनीतिक झगडाबाट माथि उठेर काम गर्न सकोस् ।
दोस्रो, विकल्पमा नयाँ चुनावमा जाने रहेको छ । तर, सर्वेक्षणहरूले नयाँ चुनावमा पनि उही स्थिति दोहोरिनसक्ने देखाएका छन् । अझ झन् खराब भएर अति दक्षिणपन्थी पार्टी सत्तामा आउनसक्ने सम्भावना छ, जुन म्याक्रोनको लागि सबैभन्दा ठूलो राजनीतिक हार हुने छ ।
तेस्रो विकल्पमा राष्ट्रपति म्याक्रोनकोे राजीनामा छ । तर, म्याक्रोनले बारम्बार सन् २०२७ को राष्ट्रपति चुनावअघि पद नछोड्ने भनिसकेका छन् । आगामी चुनावले नै फ्रान्सको भविष्यको दिशा तय गर्न सक्छ, किनकि यसपटक मरिन ले पेनको सत्तामा आउने सम्भावना सबैभन्दा बढी रहेको छ । बीबीसी
FACEBOOK COMMENTS