युएई । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाललाई संयुक्त अरब इमिरेट्स (युएई) मात्र नभइ अन्य देशले पनि भिषा नदिनसक्ने टिप्पणी गरेका छन् ।
युएईले हाल नेपाली नागरिकका लागि भिजिट, कामदार र विद्यार्थी भिसामा कडाइ गरेको घटनाबारे टिप्पणी गर्दै उनले यही परिस्थितिमा अन्य देशले पनि भिषा रोक्नसक्ने अवस्था औँल्याएका हुन् ।
नेपालमा हालै भएको जेन्जी आन्दोलनपश्चात उत्पन्न राजनीतिक जटिल परिस्थितिका कारण रोजगार गन्तव्यसमेत रहेको युएईले नेपालीका लागि भिषा बन्द गरेको छ । नेपालमा जेन्जी आन्दोलनपछि जेलमा रहेका धेरै कैदीबन्दी तथा अपराधी बाहिरिएका छन् । जतिसक्दो छिटो उनीहरूलाई पुन: नियन्त्रणमा ल्याउन नसके युएईजस्ता अन्य देशहरूले समेत भिषामा कडाई गर्नसक्ने राजदूत क्षेत्रीको भनाइ छ ।
नेपालमा छिट्टै शान्ति, अमनचयन तथा स्थिरता र विश्वसनीय वातावरण हुनासाथ भिषा नीतिमा फेरि सहजता हुने विश्वास उनले व्यक्त गरेका छन् । युएईमा रहेका नेपालीहरू मेहनती, ईमान्दारी, लगनशिल, सरल,शिष्ट तथा बफादार भएकाले पनि नेपालीहरूलाई युएई सरकार र जनताले रोजगारीमा प्राथमिकतामा राखेको उनले बताए ।
युएई आफैंमा अत्यन्त शान्त, सुरक्षित तथा विकास, प्रगति र आर्थिक समृद्धिमा अगाडि बढिरहेको देश हो ।
क्षितिज विक्रम खनाल (अबुधावी युएई) बाट
FACEBOOK COMMENTS