काठमाडौं, साउन १५ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन प्रभावित पार्ने गरी गतिविधि गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सार्वजनिक रुपमै प्रतिवादमा उत्रिएको छ ।
देउवाले हालै कांग्रेसका विभिन्न केन्द्रीय विभाग गठन गरेकामा असन्तुष्ट पौडेल समूहले बिहीबार देउवालाई भेटेर यस विषयमा लिखित असहमति बुझाएको थियो । तर देउवाले सम्बोधन गर्ने ठोस प्रतिवद्धता नजनाएको भन्दै यो समूहृले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक रुपमै विरोधमा उत्रिएको हो ।
पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भने ‘महामन्त्री र मैले यसअघि पनि पत्रलेखेरै ध्यानार्षण गराएका थियौं । तर सभापतिले सुन्नुभएन, जहिलेसम्म सुन्नुहुन्न तबसम्म दबाब बढाउँदै लैजान्छौं ।’ पौडेलले विधान विपरीत भएका गतिविधिलाई नै महाधिवेशनको एजेण्डा बनाउने घोषण गरे । उनले देशभरका नेता कार्यकर्तालाई विधान विपरीतका गतिविधिलाई साथ नदिन पनि आग्रह गरे ।
पत्रकार सम्मेलनमा महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला पनि सहभागी थिए ।
FACEBOOK COMMENTS