काठमाडौं । नेपाल क्रिकेट लिग (एनपीएपल) को च्याम्पियन टिम जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका पूर्व खेलाडी शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
मंसिर १ गते देखि सुरु हुने एनपीएलको दोस्रो संस्करण अगाडि बोल्ट्सले चन्द्रपाललाई मुख्य प्रशिक्षक बनाएको हो ।
एनपीएलको पहिलो सिजनमा पुबुदु दासानायकेले जनकपुर बोल्ट्सलाई उपाधि दिलाएका थिए । ५१ वर्षे चन्द्रपाल वेस्ट इण्डिजका महान क्रिकेटर मध्ये एक हुन् । उनी आईसीसी हल अफ फेममा समावेश भइसकेका क्रिकेटर समेत हुन् ।
चन्द्रपालले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा चन्द्रपालले २० हजार भन्दा बढी रन बनाएका छन् ।
२०२२ मा चन्द्रपाल सीपीएलको फ्रेन्चाइज टोली जमैका तलवाहजको प्रशिक्षक बनेका थिए भने सोही वर्ष उनी अमेरिका महिला राष्ट्रिय क्रिकेट टोलीको पनि प्रशिक्षक बनेका थिए ।
आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्समा अनिलकुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकर र तुलबहादुर थापामगर, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकास आग्री लगायतका खेलाडी रहेका छन् ।
FACEBOOK COMMENTS