काठमाडौं । पूर्वसभामुख कृष्ण बहादुर महरालाई प्रहरीले आज अदालतमा उपस्थित गराउन लागिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले बताए ।
महरालाई म्याद थप गर्न सरकारी वकिलमार्फत प्रहरीले सोमबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।
एसएसपी श्रेष्ठले भने, ‘हामी कानुन बमोजिम अनुसन्धान अघि बढाउँछौँ । सीआईबीले महरालाई २०८० चैत ५ मा पनि पक्राउ गरेको थियो । त्यसबेला बयान प्रक्रिया पूरा गरेर उनी हाजिर जमानीमा रिहा भएका थिए ।
सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन र सीआईबीको नेतृत्व परिवर्तन भएसँगै महरा १८ महिनापछि पुन पक्राउ परेका हुन् ।
FACEBOOK COMMENTS