काठमाडौं । हमासको कब्जामै ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायली सेनाको अस्पतालमा ल्याइपुर्याइएको छ ।
इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा शव ल्याइपुर्याइएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए ।
हमासले गएराति इजरायललाई चार बन्धकको शव फिर्ता गरेको हो । त्यसमध्येका एक हुन् नेपाली विद्यार्थी विपिन जोशी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका जोशी कृषि अध्ययनरत विद्यार्थी थिए ।
उनी लर्न एन्ड अर्न कार्यक्रम अन्तगर्त सन् २०२३ मा इजरायल पुगेका थिए । उनी इजरायल र गाजा सीमा क्षेत्रको किबुज अलुमिम क्षेत्रमा थिए । सोही स्थानबाट ७ अक्टोबर २०२३ मा अपहरण गरिएको थियो ।
विपिनसहित गाई इलौज, योसी शाराबी र ड्यानियल पेरेजको शव पनि हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको हो ।
राजदूत धनप्रसाद पण्डितका अनुसार अमेरिकामा रहेका विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल बोलाएर शव हस्तान्तरणको तयारी गरिएको छ ।
परिवारको जिम्मा लगाएपछि विपिनको शव नेपाल ल्याउने तयारी गरिनेछ । इजरायल सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाइदिने छ । त्यसका लागि अझै केही दिन लाग्ने अनुमान छ ।
FACEBOOK COMMENTS