काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपालले ३९.२ ओभरमा अलआउट हुदै १५६ रन मात्र बनाएको हो ।
नेपालको ब्याटिंग नचल्दा अमेरिकाविरुद्ध ठुलो हार बेहोरेको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४० रन बनाएका थिए भने आसिफ सेखले ३७ रन बनाए भने। त्यस्तै भिम सार्कीले २९, आरिफ सेखले २०, सोमपाल कामीले ११ रन बनाएका थिए । त्यसैगरी कुशल भुर्तेल ०, कप्तान रोहित पौडेल २, गुलशन झा ३, करण केसी २, सन्दीप लामिछाने ० मा आउट भएका थिए ।
त्यस्तै अमेरिकाका बलर हरमीत सिंहले सर्बाधिक ६ विकेट लिए भने सुभम रानजानेले २ रुशील उग्राकरले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउदै २६२ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ७५ रन बनाए भने मिलिन्द कुमारले अविजित ७० रन बनाए ।
त्यस्तै साइतेजा मुक्कामल्लाले ४२ रन, सुभम रनजानेले १९ र हरमित सिंहले अविजित १६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ सेख र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए । योजितपछि विश्वकप लिग-२ को अंक तालिकामा अमेरिका शिर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको २१ खेलमा ३० अंक भएको छ ।

त्यस्तै नेपालको भने १७ खेलमा १२ अंक रहेको छ र हाल सातौं स्थानमा छ । अब सिरिजको अर्को खेल अमेरिका र युएईबीच मंगलबार हुने तालिका रहेको छ ।

२- नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय र मातहतका सबै निकायका बैठकहरूको प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गरेका छन् ।

मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा युवा तथा खेलकुद मन्त्रालय र यस मातहतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका हुन् । उनले आगामी दिनमा थप छलफल गरेर यसको कार्ययोजना बनाउने बताए ।

प्रधानमन्त्री सुशिला कार्कीले आइतबार गुप्ता र डा. सुधा गौतमलाई मन्त्री नियुक्त गरेकी थिइन् । दुवैले आजै शपथ लिएका थिए ।

३- दुर्गा प्रसाईसँग उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले छलफल गरेका छन् । तिनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले उनले गर्ने भनेका आन्दोलनका विषयमा छलफल भएको प्रसाईले जानकारी दिएका हुन् । प्रसाईले आफुले सरकारले औपचारिक पत्र पाएमा वार्तामा बस्न तयार रहेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा राजनीतिक मागका विषयमा सरकारसँग नै वार्ता गर्नुपर्ने आफुले राखेको उनले जानकारी दिएका छन् । यस अघि प्रसाईले ओली सरकारले नगरेको काम यो सरकारले गरेको भन्दै उनले सरकारले औपचारिक रुपमा वार्तामा बोलाएमा त्यसलाई स्वागत गर्ने बताएका थिए ।
४- नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा गौतमले मन्त्रीको कार्यभार सम्हालेकी छन् । पदभार सम्हाल्दै मन्त्री गौतमले मन्त्रालयमा भ्रष्टाचार भएको सुन्न नपरोस भन्दै सेवाग्राहीलाई कुनै किसिमको दुख दिने काम भएको आफुले सुन्न नपरोस भनेकी छन् ।
उनले भनिन्- ‘जेनजी आन्दोलन भ्रष्टाचार बढेको र सुशासन नभएकोले भएको हो । कुनै पनि तहमा कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस । भ्रष्टाचार आर्थिक रुपमा हुन्छ र प्रशासनिक रुपमा हुन्छ । त्यो नहोस् ।’ उनले अहिले देशको मुहान सफा रहेको र अहिलेको अवस्थामा यो भन्दा राम्रो व्यक्ति देशले पाउन नसक्ने बताउदै आफुहरुले सकेसम्म राम्रो काम गर्ने बताएकी छन् ।
मन्त्री गौतमले यस अघि पनि स्वास्थ्य मन्त्रालयमा सचिवको रुपमा काम गरेको अनुभव रहेको भन्दै मन्त्रालय र यस अन्तर्गतका सबै निकायको खरिद प्रक्रिया पारदर्शी बनाउनु पर्ने बताइन । उनले आफ्नो भूमिका अहिले फेरिएको भन्दै आफुले सुशासनलाई नै जोड दिने बताइन् ।
स्वास्थ्य मन्त्रालयमा जनशक्तिको ठुलो ग्याप रहेको बताउदै उपलब्ध स्रोत साधनको सहि सदुपयोग गर्नेतर्फ आफुले ध्यान दिने बताएकी छन् । त्यस्तै उनले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने र जेनजी आन्दोलनमा शहिदका परिवारलाई नि: शुल्क स्वास्थ्य बीमा गर्ने योजना रहेको बताइन् ।
५- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको शिशुकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेलसमेत तीन जनाविरुद्ध भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारले उनीहरुले बिद्यालयको लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन तयार गराएर बिद्यालय कोषको ४ लाख ७१ हजार ६६७ हिनामिना गरेको आरोपमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
साथै अख्तियारले विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेल र विद्यालयका तत्कालीन लेखापाल छविलाल गाहाविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।
६- फ्रान्सको पेरिसस्थित लुभ्र संग्रहालयबाट अमूल्य मुकुट रत्न चोरीको आरोपमा संदिग्धलाई पक्राउ गरिएको छ । पेरिस अभियोजकको कार्यालयले पक्राउ परेका मध्ये एक व्यक्ति चार्ल्स डे गौल विमानस्थलबाट बाहिर जाने तयारी गरिरहेको बताएको बिबिसीले उल्लेख गरेको छ । घटना घटेको एक साता बढी हुदा पनि चोर पक्राउ गर्न नसेको भन्दै फ्रान्स सरकारको आलोचना भइरहेको छ ।
गत आइतबार लुभ्र संग्रहालयबाट लगभग १०२ मिलियन डलर मूल्यका गहना चोरी भएको थियो । चार चोरले बिहान करिब चार मिनेटमै उक्त चोरी गरेका थिए ।लुभ्र विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको संग्रहालय हो र यसमा विश्वका धेरै प्रसिद्ध कलाकृतिहरू र खजानाहरू रहेका छन् ।
७- सर्वोच्च अदालतले सरकारलाई राजदूत फिर्ताको विषयमा अन्तरिम आदेशबारे सुनुवाईमा १४ गते उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले सरकारलाई किन राजदूत फिर्ताको निर्णय लिइएको हो स्पष्ट पार्न १४ गते अन्तरिम आदेशमा छलफल गर्न झिकाएको हो ।
निर्वाचनमा केन्द्रित हुनुपर्ने सरकार राजदूत बर्खासी र नियुक्तिमा अल्झिने गैर संवैधानिक कार्यमा तल्लिन भएको दावी सहित अधिवक्ताद्धय प्रतिभा उप्रेती र अनन्तराज लुईंटेलले दायर गरेको रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले सो आदेश दिएको हो । बरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र अधिवक्ता लुईटेलले बहसमा अन्तरिम आदेश माग गरेका थिए । सरकारको असोज ३० गतेको निर्णयलाई चुनौति दिंदै कात्तिक २ मा रिट निवेदन दायर गरेका हुन् ।
कामचलाउ सरकारलाई दूरगामी महत्वको राष्ट्रिय विषयमा निर्णय गर्ने अधिकार नरहेको पनि रिटमा दावी गरिएको छ । चुनावमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने सरकारले राजदूत फिर्ता र नयाँ नियुक्तिमा अल्मिलिनुले निर्वाचनमा फोकस नगर्नु वा निर्वाचनलाई ध्यान नदिनु आफूलाई प्राप्त मेण्डेटको अवमुल्यन गर्नु रहेको रिटमा भनिएको छ ।
अहिले प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा सुनुवाईको प्रक्रिया पूरा गरेर राजदूत नियुक्त हुने सम्भावना नभएको अवस्थामा संविधानको धारा २९२ ले गरेको सुनुवाईको व्यवस्था तथा प्रतिनिधि सभाले गर्ने राजदूतको सुनुवाई समेत हुन सक्ने अवस्था नभएकोले असंवैधानिक कार्यमा अघि बढ्ने सरकारको कार्य समग्रमा संविधानले अंगालेको सुनुवाईको सिद्धान्त तथा उचित प्रतिनिधित्वको समेत बर्खिलाफ भई संवैधानिक विधिशास्त्र विरुद्ध रहेको पनि रिटमा दावी गरिएको छ ।
नेपालको संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानून बमोजिम संसदीय सुनुवाइ हुने व्यवस्था गरिएको छ । संवैधानिक व्यवस्था अनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को परिच्छेद ५ को नियम २५ बमोजिम सुनुवाई समितिको व्यवस्था गरेको छ ।
विपक्षीको कार्य असंवैधानिक भएकाले सम्मानीत अदालतबाट नेपालको संविधानको धारा १३३(२)(३) बमोजिम प्रतिषेध मिश्रित परमादेशको आदेशले रोकीपाउन योग्य छ भने गैर कानुनी रुपमा राजदूतहरुलाई फिर्ता बोलाइएको कार्य उत्प्रेषणको आदेशले बदरभागी छ भएको रिटमा दावी गरिएको छ । मुद्दाको टुंगो लाग्न समय लाग्ने भएकोले गम्भीर राष्ट्रिय महत्वको विषय आफूलाई प्राप्त मेण्डेटभन्दा बाहिर गरएर राष्ट्रलाई नै असर पर्नेगरी राजदूत फिर्ता बोलाउने निर्णय र जबर्जस्ती रिक्त गराइएको स्थानमा गैर संवैधानिक नियुक्ति गर्ने दूरगामी कार्य सम्पादन नगर्नु नगराउनु भनी अन्तरिम आदेश समेत माग गरिएको छ ।
८- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना साउन, भदौ र असोजमा नेपालको वैदेशिक व्यापारमा आयात १९.७९ प्रतिशतले बढेको छ । आइतबार भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो तीन महिनामा आयात १९.७९ प्रतिशत बढेको छ भने निर्यात ८९.६४ प्रतिशतले बढेको छ । रिपोर्ट अनुसार तीन महिनमा ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख २१ हजार बराबरको वस्तु आयात भएको छ ।
अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार बराबरको आयात भएको थियो । यस्तै यस आर्थिक बर्षको तीन महिनामा ७२ अर्ब ७८ करोड २८ लाख ५ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार बराबरको निर्यात भएको थियो । यस आर्थिक बर्षको तीन महिनामा व्यापार घाटा उच्च देखिएको छ ।
यस अवधिमा व्यापार घाटा १२.१८ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९५ अर्ब ३० करोड पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ३ खर्ब ५२ अर्ब ३७ करोड रहेको थियो । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको तीन महिनामा कुल वैदेशिक व्यापार २६.०४ प्रतिशतले बढेको छ ।
यस अवधिमा कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड पुगेको छ । त्यसैगरी तीन महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष १०.१८ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.४३ गुणामा झरेको छ ।
९- तिहार पछि आज खुलेको नेप्सेमा सामान्य वृद्धि भएको छ । आइतबार नेप्से ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेर रोकिएको छ । आज ३१३ कम्पनिका ५५ लाख ९६ हजार ७७ कित्ता शेयर २ अर्ब ६६ करोड १३ लाख २ हजार २८४ मा कारोबार भएको थियो । आज लाइफ इन्सुरेन्स, उत्पादन, निर्जीव वीमा, अन्य र ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।
आज एसबिएल डेभेन्चर २०८९ को शेयरमा सकारात्मक सर्किट लागेको छ भने समता घरेलु लघुवित्तको शेयर ८.८९ प्रतिशतले बढेको छ । त्यसैगरी आज तारागाउँ रिजेन्सी होटलको शेयर ७.१६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३२ करोड ४९ लाख बराबरको कारोबार भएको छ भने एसबिएल डेभेन्चर २०८९ को २३ करोड ६४ बराबरको कारोबार भएको छ ।
१०- राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न समूहले पुनः प्रदर्शन गर्न लागेको भनी विभिन्न माध्यमबाट आएका जानकारी र सोबाट शान्तिसुरक्षा र मानव अधिकारको उपभोगमा उत्पन्न हुने अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै आयोगले गत भाद्र २३ र २४ को आन्दोलनपश्चात् जेन्जी पुस्ताले उठाएका विभिन्न सवालहरुको समयमै उचित सम्बोधन हुनु आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा हुने प्रदर्शनहरुमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको भएको बताएको छ । त्यस्तै आयोगले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित रहेको बताएको छ ।
११- नेपाल बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गतको खेलमा अफगानिस्तानसँग पराजित भएको छ । आइतबार सम्पन्न खेलमा नेपाल सोझो सेटमा ३-० ले पराजित भएको हो ।नेपाल पहिलो सेटमा २५-१८, दोस्रो सेटमा २५-१४ र तेस्रो सेटमा २५-२१ ले पराजित भएको थियो ।
यो नेपालको चौथो खेलमा तेस्रो हार हो । नेपालले यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको थियो । नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो । नेपालले अब अर्को खेल अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।
१२- मलेसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नाराबाजी भएको छ । ट्रम्पको विरुद्ध गर्दै मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्याली आयोजना गरिएको थियो । प्रदर्शनकारीले प्यालेस्टिनी झण्डा फहराएका थिए र ‘ट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैन’ लेखिएको ब्यानर अगाडि प्रदर्शन गरेका थिए । ट्रम्प हाल एसियाको एक हप्ता लामो भ्रमणमा छन् । मलेसियामा उनको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाले आफ्नो सीमा विवादमा ‘शान्ति सम्झौता’ मा हस्ताक्षर गरेका छन् ।
१३- आफ्नै श्रीमान् ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको अभियोगमा जोशीपुर गाउँपालिका-३ लक्कड बस्ने ३५ वर्षीया सुनिता देवी कठरियालाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको क्रममा सुनिताले कुटपिट गर्दा लखनलाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका लखनलालको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
१४- थाई प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा संयुक्त शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् । मलेसियाको क्वालालम्पुरमा थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौता भएको हो ।
बैठकको क्रममा ट्रम्पले जुलाईमा थाइल्याण्ड र कम्बोडिया बीचको द्वन्द्व पछि धेरै फोन कलहरू भएको बताए । साथै उनले आफुले दुविया देशबीचको द्वन्द्व रोकेको साबि समेत गरेका छन् । थाइल्याण्ड-कम्बोडिया युद्धविराम सम्झौता पछि, अमेरिकाले व्यापार सम्झौतामा हस्ताक्षर गर्न थाइल्याण्ड र कम्बोडियालाई कागजातहरू प्रस्तुत गरेको छ । ट्रम्पले सम्झौता दुबै देशहरूको लागि ठूलो सम्झौता भएको बताएका छन् ।
१५- नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ११ हजार ६ सयले घटेर तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि कार्तिक ३ गते सोमबार सुन तोलाको २ लाख ५३ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २६५ रुपैयाँले घटेर ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कार्तिक ३ गते सोमबार चाँदी तोलाको ३२८० मा कारोबार भएको थियो ।
१६- भारतको रिलायन्स इन्डस्ट्रिजले फेसबुकसँगको सहकार्यमा नयाँ एआई कम्पनी बनाएको छ । दुई कम्पनीहरूले यो संयुक्त उद्यमको नाम रिलायन्स इन्टरप्राइज इन्टेलिजेन्स लिमिटेड (आइइआइएल) राखेका छन् । रिलायन्स इन्डस्ट्रिजले शनिबार नियामक फाइलिङमा नयाँ एआई कम्पनि बनाएको घोषणा गरेको हो ।
मुकेश अम्बानी र मार्क जुकरबर्गका कम्पनीहरूले यस संयुक्त उद्यममा संयुक्त रूपमा ८५५ करोड भारु लगानी गरेका छन् । रिलायन्स इन्टेलिजेन्स लिमिटेडले फेसबुकको भारतीय शाखासँगको सहकार्यमा यो नयाँ कम्पनी बनाइएको छ । यो नयाँ कम्पनीले कृत्रिम बुद्धिमत्ता (एआई) सेवाहरूको विकास, मार्केटिङ र बिक्रीमा काम गर्नेछ ।
रिलायन्स इन्टेलिजेन्स लिमिटेडमा रिलायन्स इन्डस्ट्रिजको ७० प्रतिशत हिस्सेदारी रहेको छ भने मेटा प्लेटफर्म इंकको सहायक कम्पनी फेसबुक ओभरसीज इंकले बाँकी ३० प्रतिशत हिस्सेदारी राखेको छ । रिलायन्सको एआई इकाईले सुरुमा २ करोड इक्विटी शेयर लगानी गरेको छ, जसको मूल्य प्रति शेयर १० भारु रहेको छ । यो संयुक्त उद्यम अगस्टमा रिलायन्सको वार्षिक साधारण सभामा घोषणा गरिएको थियो । आइइआइएलको ध्यान मेटाको खुला-स्रोत लामा मोडेलहरू र रिलायन्सको व्यावसायिक पहुँच प्रयोग गरेर विभिन्न क्षेत्रहरूको लागि एआई उपकरणहरू विकास गर्नु हुनेछ ।
साथै यसले कम्पनीहरूलाई अनुकूलित जेनेरेटिभ एआई मोडेलहरू निर्माण गरेर सेवा प्रदान गर्ने छ । त्यस्तै एआई मोडललाई विशेष रूपमा बिक्री, मार्केटिंग, आईटी सञ्चालन, ग्राहक सेवा, र वित्त जस्ता क्षेत्रहरूको लागि तयार गरिनेछ । मेटाले यस साझेदारीमा लामा-आधारित एआई मोडेलहरू निर्माणमा प्राविधिक विशेषज्ञता प्रदान गर्नेछ ।
१७- अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ग्रे लिस्टबाट बाहिर निस्कन सात बुँदे सुझाव दिएको छ । एफएटीएफले ग्रे लिष्टबाट बाहिर निस्किन उच्च राजनीतिक प्रतिबद्धता जनाएको र केहि सुधारका कदम समेत चालेको उल्लेख गरेको छ ।
एफएटीएफले नेपालले यस प्रयासलाई अझै जारी राख्नुपर्ने भन्दै ७ बुँदे सुझाव दिएको छ । नेपालले सन् २०२५ फेब्रुअरीमा एफएटीएफ र एसिया प्यासिफिक ग्रुप (एपीजी)सँग आफ्नो सम्पत्ति शुद्धीकरण निवारण प्रणालीको प्रभावकारिता बलियो बनाउन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको थियो । एफएटीएफले नेपालले गर्नुपर्ने सात बुँदे सुझाव:
१- मनी–मनी लाउन्डरिङ/आतंकवादी वित्तीयकरण जोखिमहरूको बुझाइमा सुधार गर्नुपर्ने ।
२- बैंक तथा वित्तीय संस्था, उच्च–जोखिम भएका सहकारी संस्था, क्यासिनो, डिलर्स इन प्रेसियस मेटल्स एन्ड स्टोन्स (डीपीएमएस) र रियल–स्टेट क्षेत्रको जोखिमको प्रभावकारी अनुगमन गर्नुपर्ने ।
३- वित्तीय समावेशीकरणमा बाधा नपुग्ने गरी हुन्डीलगायत पैसा ओसारपसार गर्ने अवैध सेवा प्रदायकहरूको पहिचान गरी प्रभावकारी नियमन र कारबाही गर्नुपर्ने ।
४- मनी लाउन्डरिङ छानबिन गर्न शक्तिशाली निकाय स्थापना गर्ने र क्षमता अभिवृद्धि र समन्वय गर्नुपर्ने ।
५- मनी लाउन्डरिङसम्बन्धी छानबिन तथा अभियोजनको संख्या बढाउनुपर्ने ।
६- जोखिम प्रोफाइलअनुरूप, आपराधिक आम्दानी तथा आपराधिक कारोबारमा प्रयोग भएका सम्पत्ति पहिचान, अनुगमन, रोक्का, जफत र आवश्यक परे जफत गर्ने प्रक्रियाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने ।
७- आतंकवादी क्रियाकलाप तथा विनासकारी हातहतियार निर्माण तथा ओसारपसारमा वित्तीय लगानी हुन नदिनका लागि नियामक निकायबाट भएका कमजोरीलाई सुधार गर्नुपर्ने ।
नेपाल गत फेब्रुअरीमा एफएटीएफको पुन: ग्रे लिष्टमा परेको थियो । त्यसअघि नेपाल सन् २०११ म पनि ग्रे लिस्टमा परेर नेपाल २०१४ मा बाहिरिएको थियो ।
१८- अल नासरले साउदी प्रो लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल हाज्मलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । रोनाल्डोले यस खेलमा गोल गर्दै आफ्नो क्यारियरमा ९५० गोल पुरा गरेका छन् । रोनाल्डोले २०२५ मा ३८ खेलमा ३४ गोल र ३ असिस्ट गरेका छन् । यो जितपछि अल नासरको साउदी प्रो लिगमा ६ खेलमा १८ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तै अल हाज्मको भने ६ खेलमा ५ अंक रहेको छ र हाल लिगमा १४औं स्थानमा रहेको छ ।
१९- ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले आइतबार सार्वजनिक सूचनामार्फत १६ जेठ २०८१ र १ साउन २०८१मा ठेक्का अन्त्य गर्ने आशयको सूचना दिइएपनि निर्माण व्यवसायीबाट सम्झौता बमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकाले ठेक्का अन्त्य गरिएको जनाएको छ ।
कार्यालयबाट पटक पटकको अनुरोध तथा सर्वाजनिक सूचना जारी गर्दासमेत काम गर्न कुनै ध्यान नदिइएको हुँदा सम्झौतामा उल्लेखित प्रावधानअनुसार कार्यसम्पादन जमानत जफत गर्ने कारबाही अगाडि बढिसकेको जनाएको छ । साथै, सार्वजनिक खरिद कानुनको व्यवस्था बमोजिम अन्य आवश्यक कारबाही अगाडि बढाउन हालसम्म गरिएको कामको नापजाँच एवम् बाँकी कामको मूल्याङ्कन गर्न १५ दिनभित्र सम्पन्न गर्न जानकारी गराइएको छ । रद्द गरिएका ठेक्का आर्थिक वर्ष २०६८/६९, २०६९/७०, २०७३/७४ र २०७४/०७५मा गरिएका थिए ।
सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया सुरु
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय तुम्लिङ्टार, इलाम, हेटौंडा र नेपालगञ्जले आइतबार आफू मातहत रुग्ण अवस्थामा रहेका ४० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । तुम्लिङ्टारले १७, इलामले १२, हेटौंडाले ७ र नेपालगञ्जले ४ ठेक्का गरी ४० ठेक्का ठेक्का किन नतोड्ने ? भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् ।
विभिन्न सडक डिभिजन कार्यालयले यस अघि रुग्ण रहेका ६८ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइसकेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत रुपमा ठेक्का उल्लङ्घन गरेको उल्लेख गरिएको छ ।
विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ । सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संसोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।
उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।
२०- लिभरपुलले इङलिश प्रिमियर लिगमा लगातार चौथो खेलमा हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३-२ गोल अन्तरले पराजित भएको हो । ब्रेन्टफोर्डको जितमा डाङगो ओउट्टारा , केभिन सचदे र इगोर थियागोले एक एक गोल गरेका थिए ।
त्यस्तै लिभरपुलका लागि मिलोस केर्केज र मोहमद सलाहले एक एक गोल गरेका थिए । यो जितपछि ब्रेन्टफोर्डको ९ खेलमा १३ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ । त्यस्तै लिभरपुलको भने ९ खेलमा १५ अंक रहेको छ र लिगमा छैटौं स्थानमा झरेको छ ।
FACEBOOK COMMENTS