जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) आज विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभामा आज दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री सोनल विश्वासको मत लिन लागेका हुन् ।
अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट सतिशकुमार सिंहले राजीनामा दिएपछि पाँच दलको ५६ जना प्रदेशसभाको समर्थनमा सोनल गत कार्तिक २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आह्वान गर्दा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्न पाँच दलले दावी पेश गरेका थिए।
सोनललाई मुख्यमन्त्री बनाउन उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले दावी पेश गरेका थिए ।सरकारमा दावी गर्ने समय पाँच दल रहेपनि अहिले सोनलको नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गरेको छ ।
दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई ५७ मत पर्ने देखिन्छ । १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना प्रदेशसभा कायम छन् । सोनल नेतृत्वको सरकारले विश्वासको मत पाउनका लागि प्रदेशसभामा हाल कायम रहेको सदस्यको बहुमत सदस्यको समर्थनको आवश्यकता पर्छ ।
FACEBOOK COMMENTS