काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी केन्द्रीय समितिको विस्तारित बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवार आह्वान गरेको छ ।
समानुपातिक उम्मेदवारको मापदण्ड बनाउदै रास्वपाले यसअघि २०७९ को निर्वाचनमा समानुपातिक उम्मेदवार यस पटकको निर्वाचनमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ । सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रूपरेखामा आधारित रहेर उम्मेदवारी आह्वान गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
रास्वपाको समानुपातिक उम्मेदवार बन्ने मापदण्ड:
१- उम्मेदवारी दिने योग्यातामा केही कुराहरू थप्दै सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा, शैक्षिक प्रमाणपत्रको प्रमाणीकरणको स्वघोषणा, वैवाहिक अवस्थाको वैध स्पष्टताको स्वघोषणा, सार्वजनिक रूपमा प्रमाणित (अनलाइनसहित) घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार/धम्की, जात–लिंग आधारमा अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको स्वघोषणा र आफूले परिवारको वा एकै घर सदस्यले आफ्ना आधारभूत आवश्यकताहरू आफू प्रतिनिधिसभा सदस्य हुँदासम्म स्थिर रूपमा पूरा गर्न सक्ने नियमित र पारदर्शी आम्दानी स्रोतको स्वघोषणालाई अनिवार्य बनाएको छ।
२- उम्मेदवार छनोट प्रक्रियाको ५० प्रतिशत भाराङ्क बोक्ने प्रारम्भिक निर्वाचन (मतदाता नामावली, मतदान, मतगणना, नतिजा प्रकाशन तथा सम्बन्धित निर्णयहरू) सम्पूर्ण रूपमा पारदर्शी, विधिसम्मत र निष्पक्ष भएको/नभएको तथ्यपरक रूपमा मूल्याङ्कन गर्न पार्टीले अडिट समिति पनि बनाउने भएको छ।

३- परम्परागत समानुपातिक बन्दसूचीको खाकालाई थप उन्नत, वैज्ञानिक र वस्तुपरक बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानले निर्दिष्ट गरेको जातीय क्लस्टर मात्र नभई क्लस्टरमा आधारित जनसांख्यिक प्रादेशिक अनुपात र २०७९ को आम निर्वाचनमा पार्टीले प्राप्त गरेको समानुपातिक मतको प्रादेशिक अनुपातका आधारमा ११० जना उम्मेदवारको बन्दसूचीको खाका निर्माण गरेको छ ।

यो व्यवस्थाले प्रदेशको समानुपातिक प्रतिनिधित्व मात्र सुनिश्चित गरेको छैन, प्रदेशको क्लस्टरमा आधारित जनसांख्यिक अनुपातलाई पनि सम्बोधन गरेको छ।

४- जेन–जीको स्पिरिटको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै २५ देखि ४० वर्षबीचका युवाका लागि उनीहरूको जनसङ्ख्या अनुपातकै आधारमा २७% प्रतिनिधित्व सुनिश्चित गरिएको छ। त्यसैगरी, प्रवासबाट उम्मेदवार बन्न फर्किने नेपालीका लागि १०% प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

५- २०७९ को प्रतिनिधिसभामा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका पार्टी सदस्यहरूले २०८२ फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारी दिन नपाउने व्यवस्था पनि पार्टीले गरेको छ ।
FACEBOOK COMMENTS