काठमाडौं, साउन २१ – सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न राजनीतिक व्यक्तित्व, अर्थ, स्वास्थ्य तथा सुरक्षा क्षेत्रका विज्ञहरुलाई समेत बालुवाटार बोलाएर छलफल गरे । कोभिड–१९ को संक्रमण अवस्था, प्रभाव र रोकथाम तथा सुरक्षाका लागि भन्दै बोलाइएको छलफलमा प्रधानमन्त्री ओलीलाई विज्ञहरुले कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिए ।
प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले आवश्यकता र सुझावलाई ध्यानमा राख्दै सरकार अघि बढ्ने प्रतिवद्धता जाहेर गरे । कोभिड–१९ संक्रमणको रफ्तार तीव्र भइरहेको समयमा विज्ञहरुको सुझावअनुसार सरकारले फेरि पनि लकडाउन घोषणा गर्न सक्ने संकेत देखिएको हो ।
१२० दिन लामो लकडाउनका कारण व्यापार व्यवसायमा नराम्रो धक्का व्यहोरेका उद्योग, व्यवसायीहरु भने फेरि लकडाउन हुने हो कि भनेर झस्किन पुगेका छन् । व्यवसायीहरुमा कतै फेरि त्यस्तै कठिनपूर्ण समयको सामना गर्नुपर्ने होइन भन्ने चिन्ता देखिएको छ ।
जेजसो भए पनि पहिलेको जस्तो लकडाउनको दुर्गति अब भोग्नु नपरोस् भन्ने व्यवसायीहरुको धारणा छ । यद्यपि लकडाउन गर्नैपर्ने स्थिति भएमा पहिलेको जस्तो अव्यवस्थित नभई सुरक्षा र आवश्यकताको आधारमा क्षेत्र निर्धारण गरेरमात्र लकडाउन गरिनु पर्ने व्यवसायीहरु बताउँछन् । यदि त्यसो नभए मुलुकमा अर्को भयाभह अवस्था आउन सक्ने उनीहरुको चेतावनी छ ।
‘खस्किएको अर्थतन्त्र उकास्न मुस्किल छ’
नेपाल चेम्बर अफ कमर्स(एनसीसी) का अध्यक्षसमेत रहेका व्यवसायी राजेशकाजी श्रेष्ठ फेरि पनि मुलुक लकडाउनमा गए खस्किएको अर्थतन्त्र थप अन्योलतातर्फ धकेलिने र त्यहाँबाट उकास्न मुस्किल पर्ने बताउँछन् ।
‘अहिलेको समयमा औद्योगिक तथा व्यावसायिक क्षेत्रले पुनः लकडाउन कल्पना पनि गर्न सक्दैन । तर सरकारी निर्णय भए त्यो मान्न पनि तयार हुनुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘तर यत्ति हो, पहिले झैं फेरि पनि गोलमटोल लकडाउन भए खस्किएको मुलुकको अर्थतन्त्र उकास्न मुस्किल पर्छ ।’
श्रेष्ठका अनुसार १२० दिन लामो लकडाउन पश्चात भर्खरभर्खर लयमा फर्कदै गरेको बजार फेरि लकडाउन घोषणा भएमा सन्तुलन बिग्रिएर थप समस्या निम्तिन्छ । जसले मुलुकको अर्थतन्त्रमा क्षणिक नभएर लामो समयसम्म प्रभाव पार्न सक्छ ।
FACEBOOK COMMENTS