काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म विद्युत् बिक्रीमार्फत ५५ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको तुलनामा आम्दानी उल्लेख्य बढाएको हो । यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७९.४५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ३४ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।
विद्युत् बिक्री आम्दानी बढेसँगै कम्पनी पनि नाफामा पुगेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ५ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीका दुबै आयोजनाहरु, ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजना र साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाबाट नियमित रुपमा विद्युत् उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।
३ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ५२ करोड ८२ लाख रुपैयाँ ऋणात्मक छ ।

FACEBOOK COMMENTS