काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी पुरा भएको छ ।
शनिबार एनपीएल बारे क्यानका सचिव पारस खड्काले पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जानकारी दिएका छन् ।
सचिव खड्काले दोस्रो सिजनमा ३५ देखि ४० करोड रूपैयाँ सम्म आम्दानी हुने बताएको छ । एनपीएलमा ३५ देखि ४० करोड रूपैयाँसम्म आम्दानी हुनसक्ने अनुमान रहेको बताएका हुन् । खड्काले प्रयोजकबाट १५ करोड ३० लाख, सहभागी टिमहरूबाट ९ करोड, ओटीटीबाट पाँच करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोडसम्म उठ्ने अनुमान क्यानको रहेको उनले जानकारी दिए ।
क्यानले यस सिजन पुरस्कार रकमलाई गतबर्षकै कायम राखेको छ । जसअनुसार विजेता टोलीले १ करोड १० लाख पुरस्कार पाउने छ भने उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् ।
खेल तालिका:

क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार मङ्सिर १ अर्थात् नोभेम्बर १७ मा पहिलो खेल डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुने भएको छ । त्यस्तै लिग चरणको अन्तिम खेल डिसेम्बर ७ को आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने छ ।

त्यस्तै प्लेअफका खेलहरु डिसेम्बर ९ मा पहिलो क्वालिफायर खेल हुने छ भने डिसेम्बर १० मा इलिमिनेटर र डिसेम्बर ११ मा दोस्रो क्वालिफायर खेल हुने छ । त्यस्तै मङ्सिर २७ अर्थात डिसेम्बर १३ शनिबार एनपीएलको फाइनल खेल हुने छ ।

क्यानले सबै खेलहरु बिहान ११: १५ र दिउसो ४ बजेको समय तोकेको छ । दुई खेल हुने दिन यस समयमा खेल हुने छन् भने एक मात्र खेल हुने दिन खेल दिउसो ४ बजेदेखि शुरु हुने छ । त्यस्तै क्यानले लिग चरणका चार खेल भने दिउसो साढे ३ बजे शुरु हुने उल्लेख गरेको छ । त्यस्तै फाइनल खेलपनि साढे ३ बजेदेखि नै शुरु हुने छ ।

टिकटदर:

क्यानले एनपीएल खेलका टिकटलाई दुई श्रेणीमा विभाजन गरेको छ, जसमा साधारण र प्रिमियम रहेका छन् । उद्घाटन दिन र शनिबारका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य १५०० राखिएको छ । साताका अन्य दिन (आइतबारदेखि शुक्रबार) हुने खेलहरूका लागि साधारण टिकट ५०० र प्रिमियम टिकटको मूल्य १००० तोकिएको छ । प्लेअफ र फाइनल खेलका लागि भने टिकटको साधारण टिकटको १००० र प्रिमियम टिकटको २००० राखिएको छ । प्रतियोगिताका सबै खेल हेर्न चाहने दर्शकका लागि क्यानले सिजन पासको पनि व्यवस्था गरेको छ, जसको मूल्य १५,००० तोकिएको छ ।
प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनरका रूपमा ‘खल्ती बाई आइएमई’ रहेको छ भने दर्शकहरूले खल्ती एपमार्फत सहजै आफ्नो टिकट किन्न सक्ने क्यानले जनाएको छ । साथै क्यानले प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूका लागि टिकट बिक्री खुला गरेको छ । विहिबार टिकट खोलेको २४ घण्टामै उद्घाटन खेलको सबै टिकट बिक्रि भएको क्यानले जनाएको छ ।
FACEBOOK COMMENTS