काठमाडौं । एसवाई प्यानल लिमिटेडको सर्वसाधारणका लागि निस्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ ।
आइतबार बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो । आईपीओमा आवेदन दिएका ४ लाख ७ हजार ६१५ जनाले १०–१० कित्ताको दरले शेयर पाएका छन् भने ६ जनाले एक एक कित्ता शेयर पाएका छन् ।
२१ लाख ८९ हजार ७७३ जनाले शेयरका लागि आवेदन दिएकोमा २० लाख ८७ हजार ३२० आवेदन स्वीकृत भएका थिए । आवेदन दिएका १८ हजार ५४ आवेदन अस्वीकृत भएको प्रभु क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको थियो । कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको थियो ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणमा छुट्याइएको मध्येबाट १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीहरूलाई खुला गरिएको थियो ।

कम्पनीले असोज ७ गते उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीका लागि पहिलो चरणमा आईपीओ जारी गरिसकेको छ । आइपिओ बाँडफाँटको नतिजा सीडीएससी आइपीओ रिजल्ट पोर्टल, मेरो सेयर एकाउन्टलगायतबाट हेर्न सकिन्छ ।

FACEBOOK COMMENTS