काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय अन्तर्गतका निकायका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री खरेलले उक्त निर्देशन दिए ।
मन्त्री खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाउन आग्रह गरे । उनले पिएसबीको कन्टेन्टमा नवीनता र सिर्जनशिलता तथा प्रस्तुतिमा निखारपन आउनुपर्नेमा जोड दिए ।
मन्त्री खरेलले दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई अपेक्षित उपलब्धि हाशिल गर्न निर्देशन दिए । उनले सुरक्षण मुद्रण केन्द्रले सवारी अनुमति पत्र छाप्न थालेसँगै सर्वसाधारणलाई वितरण गर्न पनि आग्रह गरे ।
सञ्चारमन्त्री खरेलले सङ्घीय सरकारका सबै मन्त्रालयलाई पेपरलेस बनाउने काम माघ महिनाभित्र सक्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए । डिजिटल ट्रान्सफरमेशनका लागि पेपरलेस अनिर्वाउय भएको उनले उल्लेख गरे । अहिले अर्थ मन्त्रालय र सञ्चारमन्त्रालयलाई पेपरलेस बनाइएको छ ।

मन्त्री खरेलले सहज रुपमा आम नागरिकले पाउने सेवामा कुनै पनि ढिलासुस्ती नगर्न मन्त्रालयअन्तर्गतका निकायहरूलाई निर्देशन दिए । उनले भने “म पूर्ण रुपमा विश्वास गर्छु, तपाँइहरुकोतर्फबाट सहयोग हुनुपर्छ । अर्को त्रैमासिक बैठकमा मन्त्रालय अन्तर्गतका निकायका उपलब्धिमूलक र सुखद होस् । आएका सुझावलाई सहजिकरण गर्न मन्त्रालयले पहल गर्नेछ ।”

सञ्चारमन्त्री खरेलले ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण कार्यक्रमलाई प्राथमिकता दिन सूचना तथा प्रशारण विभागलाई निर्देशन दिए । बैठकमा मन्त्रालयका सचिव राधिका अर्यालले सरकारी काम कारबाहीमा कमजोरी भएका कारण वर्तमान परिस्थितको सिर्जना भएकाले नयाँ शैली र प्रविधिमार्फत गतिशील भएर काम गर्नुपर्नेमा जोड दिए । उनले मन्त्रालय अन्तर्गत निकायको पुँजिगत खर्च बढाउन, राजश्व आयमा वृद्धि गर्न तथा बेरुजु फर्छौट गर्न पनि निर्देशन दिए ।


FACEBOOK COMMENTS