काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माफी मागेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारसँग आफ्ना मागबारे वार्ता गर्न पुगेका प्रसाईंले सो क्रममा आफ्ना अभिव्यक्ति स्मरण गर्दै माफी मागेका हुन् ।
‘मैले भनेका कुरामा सरी भन्छु । माफी माग्छु,’ प्रसाईंले भनेका छन् ।
साथै, उनले प्रधानमन्त्री कार्कीलाई दुर्गा माताको मूर्ति पनि उपहार दिएका छन् । उनले दुर्गा माताकै रुप धारण गरेर काम गर्न पनि प्रधानमन्त्री कार्कीलाई सुझाए ।
‘तपाईँ माता हो दुर्गा हो । त्यो रुप धारण गरेर काम गर्नुहोस्,’ प्रसाईंले प्रधानमन्त्रीलाई भनेको भनाइ उद्धृत गर्दै सहभागी स्रोतले बतायो ।
आफ्ना विभिन्न मागसहित सोमबार वार्ताका लागि सिंहदरबार पुगेका प्रसाईंले सो क्रममा प्रधानमन्त्री कार्कीलाई बुद्धको मूर्ति उपहार दिएका थिए ।

नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसँग छलफल भएको हो । प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि प्रसाईंलाई मंसिर २२ गतेको समय दिइएको थियो ।

यो भेटमा प्रसाईंले आफ्नो समूहले गत मंसिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारले ध्यानाकर्षण गराएको बताइएको छ ।

FACEBOOK COMMENTS