काठमाडौँ / वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूको साहित्यरसिर्जना सङ्कलित पुस्तक ‘पुरानो पन्ना’को विमोचन तथा विदेशबाट मतदान सम्बन्धी सर्वेक्षण अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।
पुस ३ गते बिहीबार काठमाडौँको सुकेधारास्थित होटल मक्र्युरमा आयोजित उक्त कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासी दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम श्रमिक सञ्जाल र सामाजिक न्यायका लागि कानुन तथा नीति मञ्च को संयुक्त समन्वयमा सम्पन्न भएको थियो । ‘पुरानो पन्ना’ पुस्तकमा नेपाली आप्रवासी श्रमिकहरूको १०८ वटा कविता, गजल र मुक्तक समेटिएका छन् ।
पुस्तकमा अरबका ६ देश र मलेसियामा कार्यरत न्यून आय भएका श्रमिकहरूको सिर्जना समावेश गरिएको छ। सर्वेक्षण प्रतिवेदनले साउदी अरब, कुवेत, मलेसिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमान र बहराइनबाट संकलित ६,४८५ प्रतिक्रिया समेटेको छ ।

प्रतिवेदनअनुसार, विप्रेषणमार्फत नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेका आप्रवासी श्रमिकहरू हाल आफ्नो संवैधानिक हक मतदान अधिकारबाट वञ्चित छन् ।
विदेशी भूमिमा रहेका नेपालीहरूले नेपालको निर्वाचन प्रक्रियामा गहिरो चासो राख्ने देखिएको छ। अधिकांशले इलेक्ट्रोनिक र दूतावास(आधारित मतदानको विकल्पमा रुचि देखाएका छन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आप्रवासी नेपालीहरूको मतदान अधिकारलाई नैसर्गिक मानव अधिकारको रुपमा समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्रम आप्रवासन विज्ञ डा. मिना पौडेलले विदेशमा रहेर देशलाई योगदान गर्ने नेपालीले मतदान गर्न पाउनुपर्नेमा जोड दिइन्। उनले नेपालमा धेरै श्रमिकहरू बाध्यतावश विदेशमा रहेकोले भोट दिन नपाउनु अन्यायपूर्ण भएको बताइन्। बरूण घिमिरेले विदेशबाट भोट हाल्न पाउनु संवैधानिक अधिकारसँगै अन्तर्राष्ट्रिय अधिकारसँग पनि जोडिएको र सरकारले कानुनी जटिलता देखाएर यसलाई ढिलाइ गराएको बताए। अनुराग देवकोटाले भने सर्वोच्च अदालतले यस विषयलाई ‘बालिक नेपाली मतदाता’को प्रसङ्गमा फराकिलो दायरामा लिएको र ठूलो जनसंख्या देशबाहिर रहेको अवस्थामा उनीहरूलाई मतदान अधिकार नदिँदा नेपालमा लोकतन्त्र पूर्ण रूपमा अभ्यास हुन नसकेको बताए ।

कार्यक्रममा श्रमिक सञ्जालका भीम श्रेष्ठले प्रतिक्रिया दिँदै भने, “विदेशमा रहेका नेपाली नेपालको चुनावमा भोट हाल्न अति इच्छुक छन्। भोट दिने अधिकार र आफ्नो भावना व्यक्त गर्ने अधिकार दुबै महत्त्वपूर्ण हुन्। आज यी दुबै सन्दर्भलाई एकै ठाउँमा ल्याउन सफल भयौँ ”नेपाल अहिले राजनीतिक सङ्क्रमणकालमा प्रवेश गरेको अवस्थामा, प्रवासी श्रमिकहरूले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न पाउनु अत्यावश्यक रहेको यस कार्यक्रमले पुष्टि गरेको छ ।

FACEBOOK COMMENTS