सिन्धुली । सिन्धुलीमा कर्फ्यु आदेश जारी भएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालयले बेलुका साढे ८ बजेबाट शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका ४ धुराफाँटमा ३२ वर्षीया सुशीला बम्जनलाई आफ्नै सासु, नन्द र ससुराले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको विषयलाई लिएर आफन्त र स्थानीय आक्रोशित हुदै प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय प्रशासन ऐन, २०२८ का दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरेकी हुन् । सुशीलाको हत्या भएको घटनालाई लिएर स्थानियबासीबाट ढुङ्गमुढा प्रहार तथा हुलदंगा लगायतका गतिविधि हुँदा जिल्लाको शान्ति सुरक्षा व्यवस्थामा खलल पुग्ने देखिएकाले पुस १० गते राति ८ः३० देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको बताइएको छ ।
प्रशासनले कमलामाई नगरपालिका ४ भित्रको पूर्वमा ग्वाङखोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल फाँट र दक्षिणमा धुराबजार चोकसम्म निषेधित क्षेत्र तोकिएको छ । ती स्थानमा सर्वसाधरण तथा अत्यावश्यक बाहेकका सवारी साधन आवतजावतमा रोक लगाइएको छ । त्यस्तै कुनै पनि किसिमको भेला, जुलुस र भेलाजन्य कार्य नगर्न र पाँच जनभन्दा बढी मानिस भेला नहुन आदेशमा भनिएको छ ।

FACEBOOK COMMENTS