काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहालले जेन जी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहाल प्रचण्डले अब नयाँ संकल्प र प्रतिबद्धतासहित जनताको आवश्यकतालाई सम्बोधन गर्ने कि आफ्नो औचित्य सकिएको स्वीकार गर्दै पन्छिने भन्ने निर्णायक अवस्थामा राजनीति पुगेको बताएका हुन् ।
अध्यक्ष दाहालले देश अहिले विरलै देखिने गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यसको समाधान सर्वपक्षीय सहमति र संकल्पबाट मात्रै सम्भव हुने धारणा राखे । ‘जेन जी आन्दोलनले आत्मसमीक्षा गर्न उत्प्रेरित गर्यो । हामी सबैका अगाडि आत्मसमीक्षा गर्न जरुरी छ ।
नयाँ संकल्प र प्रतिबद्धतासहित जनताको अवश्यकतालाई अगाडि बढ्ने वा आफ्नो औचित्य सकियो भनेर पन्छिने अवस्था बनाइदिएको छ । यो देश निकै अप्ठ्यारो परिस्थितिबाट ग्रुजिएको छ । यो विरलै आउने संकट हो । हामीले यो संकटको समाधान गर्ने भनेको सर्वपक्षीय सहमतिबाट अघि बढ्नुपर्छ । सर्वपक्षीय संकल्पबाट अघि बढ्ने वातावरण बनेको छ,’ उनले भने ।
अध्यक्ष दाहालले विकास र समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताए । निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म देशले आर्थिक प्रगति हासिल गर्न नसक्ने उनको भनाइ थियो । उनले शान्ति, स्थायित्व र समृद्धि आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि निर्वाचन सम्पन्न गर्नु र आगामी सरकारमार्फत संविधान संशोधन गर्नु नै दीर्घकालीन समाधान भएको बताए ।
FACEBOOK COMMENTS