काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका सह–संयोजक माधवकुमार नेपालले निर्वाचनसँगै राज्य संरचनाभित्र रहेका त्रुटिहरू सुधार गर्ने जिम्मेवारी अहिलेको सरकारको काँधमा रहेको बताएका छन् । उद्योग वाणिज्य महासंघले आज काठमाडौंमा ’शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ शीर्षकको आयोजना गरेको बृहत् भेला संबोधन गर्दै उनले देशका वर्तमान समस्या समाधानका लागि पनि सरकार गम्भीर हुन पर्ने बताए ।
उनले भदौ २३ गते भएको आन्दोलनका मागहरू उचित रहेको टिप्पणी समेत गरे । ‘भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्नुपर्ने र सामाजिक सञ्जालमाथिको बन्देज हटाउनुपर्ने माग स्वाभाविक र जायज थिए । भदौ २३ गतेको आन्दोलनका माग उचित थिए,’ उनले भने,‘सत्तामा पुगेकाहरूमा शक्ति मोह बढेपछि संवादमार्फत समस्याको समाधान खोज्ने प्रवृत्ति कमजोर भयो । सत्तामा बस्ने व्यक्तिको गल्तीका कारण यो अवस्था आयो । ’
भदौ २४ गते भएका आगजनी, लुटपाट र विध्वंसका घटनाप्रति भने उनले कडा आपत्ति जनाएका छन् । ‘आगजनी, लुटपाट र विध्वंस गर्ने कार्य आपत्तिजनक र दण्डनीय छन्,’ उनले भने, ‘त्यसप्रति सरकार उदार देखियो, गम्भीर देखिएन, जुन अत्यन्तै दु:खद हो ।’उनले ती घटनाका भिडियो र सिसिटिभी फुटेज सार्वजनिक भइसकेको उल्लेख गर्दै यसले सरकारकै भूमिकामाथि समेत प्रश्न उठाएको बताए ।
FACEBOOK COMMENTS