काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याकचरर्स एसोसिएसन (नाइमा)ले १ हजार ६ सय ५१ जना ट्राफिक प्रहरीलाई तालिम दिने भएको छ ।
नाइमा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौं उपत्यकाका १ हजार ६ सय ५१ जना ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीपहरू (सफ्त स्किल्स) तथा नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँचवर्षे दीर्घकालीन रणनीतिक सम्झौता भएको हो ।
ट्राफिक सप्ताह २०८२ अन्तर्गत ’सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’ उद्घाटन कार्यक्रमको अवसरमा उक्त समझदारी भएको हो । समझदारीपत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नाइमाका बोर्ड सदस्य सौरभ ज्योतिले शनिबार हस्ताक्षर गरेका छन् ।
तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्याससम्बन्धी विषयमा निरन्तर रूपमा अद्यावधिक बनाउँदै नागरिकसँगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको बताइएको छ ।
समझदारीअनुसार नाइमाले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता उपयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी/यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयहरूमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ । त्यसैगरी, ट्राफिक कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ ।

नाइमाका अनुसार पहिलो चरणको तालिम आगामी ४ माघ आइतबारदेखि सुरु हुनेछ । तालिम १७ कार्यदिन निरन्तर सञ्चालन हुने र प्रत्येक सत्रमा १ सय जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ । तालिममा तनाव व्यवस्थापन/ध्यान, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको सैद्धान्तिक एवं प्रत्यक्ष अवलोकनसत्र, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्यान्ड–जेस्चर सीपलगायत विषय समेटिएका छन् ।

तालिमको सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) पुल्चोक क्याम्पस तथा थापाथली क्याम्पसका प्राध्यापकहरू, जीवन विज्ञानका प्रशिक्षकहरू, नाइमाका सदस्य कम्पनीका प्राविधिकहरू, प्रेरणादायी वक्ता तथा जीवन प्रशिक्षक रमन भट्टराई, साथै आवश्यकताअनुसार अन्य स्वतन्त्र (फ्रिल्यान्स) विषय विज्ञहरू सहभागी हुने नाइमाले जनाएको छ ।

त्यस्तै, तालिमका केही महत्त्वपूर्ण सत्रहरू ट्राफिक प्रहरी प्रमुख र वरिष्ठ ट्राफिक प्रहरी अधिकृतहरूले समेत लिनेछन् । विषयगत प्रस्तुति, व्यावहारिक अवलोकन, अन्तक्र्रिया, र श्रव्यदृश्य अवलोकन तालिमको मुख्य ढाँचा रहनेछ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले नयाँ सवारी प्रविधि र जनसम्पर्क–केन्द्रित सेवाका विषयमा ट्राफिक प्रहरीलाई निरन्तर रूपमा शिक्षित बनाउनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै भने, ’ट्राफिक प्रहरी दैनिक रूपमा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन्छन्, त्यसैले उनीहरूको व्यवहारकुशल सीपहरू सुदृढ गर्नु र नयाँ सवारी प्रविधिबारे अद्यावधिक गराउनु जरुरी छ ।’ उनले दीर्घकालीन साझेदारीमा नाइमाको निरन्तर प्रतिबद्धता प्रशंसनीय रहेको बताए ।

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नाइमाको दृष्टिकोण ’एम्पावरिङ ग्रोथ थ्रु मोबिलिटी’अनुरूप सडक सुरक्षा प्रवद्र्धन, उपभोक्ता शिक्षा/सचेतना, दक्ष मानवस्रोत विकास तथा नीति पैरवीमा संस्था निरन्तर सक्रिय रहेको बताइन् । उनले यो दीर्घकालीन सहकार्यले ट्राफिक प्रहरीको क्षमता विकासमार्फत सडक सुरक्षा सुदृढ गर्दै नागरिकमैत्री सेवा प्रवाह सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास पनि व्यक्त गरिन् ।
FACEBOOK COMMENTS