काठमाडौँ । पछिल्लो समय बंगलादेश क्रिकेट लगातार विवादमा रहेको छ । भारतसँगको राजनीतिक सम्बन्ध खराब हुदै गएपछि यसको असर क्रिकेटमा पनि देखिएको छ ।
बंगलादेशमा हिन्दुहरुमाथि भएका लगातारका आक्रमणको भारतमा विरोध भएपछि विकसित भएको घटनाक्रमले भारतीय क्रिकेट कन्ट्रोल बोर्डले बंगलादेशका क्रिकेटरलाई आइपिएल खेल्न नदिने निर्णय गर्यो ।
त्यसपछि आइपिएल टिम कोलकोता नाइटराइडर्सले बंगलादेशका खेलाडी मुस्ताफिजुर रहमानलाई रिलिज गर्यो । यो घटनापछि बंगलादेश क्रिकेट बोर्डले आगामी फेब्रुअरीमा भारतमा हुने टी–२० विश्वकप खेल्न नआउने चेतावनी दिदै आएको छ । यो विवाद जारी रहेको समयमा अब फेरी नयाँ विवाद भएको छ ।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) हालै बोर्ड निर्देशक एम. नजमुल इस्लामले पूर्व कप्तान तमिम इकबाललाई ’भारतीय एजेन्ट’ भनेपछि विवाद बढेको छ । तमिमले भारत र बंगलादेश क्रिकेट बीचको जारी तनावलाई वार्ताबाट समाधान गर्न सुझाव दिएपछि विवाद सुरु भएको छ ।
बढ्दो विरोधको बीचमा, बंगलादेश क्रिकेट बोर्डले टिप्पणीहरूको लागि खेद व्यक्त गर्दै आधिकारिक विज्ञप्ति जारी गरेर खेद व्यक्त गरेको छ । बोर्डले भनेको छ– ’बोर्डले अनुपयुक्त, आपत्तिजनक वा चोट पुर्याउने टिप्पणीहरूको लागि आफ्नो इमानदारीपूर्वक खेद व्यक्त गर्दछ । त्यस्ता टिप्पणीहरूले बंगलादेश क्रिकेट बोर्डको मूल्यमान्यता, सिद्धान्त वा आधिकारिक अडानलाई प्रतिबिम्बित गर्दैन ।’

बोर्डले कुनै पनि निर्देशकको व्यक्तिगत कथनलाई बोर्डको आधिकारिक नीति नमानिने बताउदै बोर्डले तोकिएको प्रवक्ता वा मिडिया र सञ्चार विभाग मार्फत जारी नगरिएका कथनहरूको जिम्मेवारी नलिने बताएको छ । साथै बोर्डले खेलाडीहरूलाई अपमान गर्ने वा क्रिकेटको छवि बिगार्नेहरूलाई अनुशासनात्मक कारबाही गरिने चेतावनी पनि दिएको छ ।

तमिम इकबालले हालै संवादको आवश्यकतामा जोड दिँदै क्रिकेटको हितलाई प्राथमिकता दिइनुपर्ने बताएका थिए । उनले बंगलादेश क्रिकेटको हित, भविष्य र अन्य पक्षहरूलाई विचार गरेर निर्णय लिनुपर्ने बताउदै वार्ताबाट समाधान गर्न सकिन्छ भने, त्यो भन्दा राम्रो केही नहुने बताएका थिए ।

तमिमले संवेदनशील मुद्दाहरूमा सार्वजनिक बयान दिनु अघि आन्तरिक छलफल आवश्यक रहेको पनि बताए । उनले बंगलादेश क्रिकेटको ९०–९५ प्रतिशत कोष आईसीसीबाट आउने बताउदै बंगलादेश क्रिकेटलाई फाइदा हुने निर्णयहरू गर्नुपर्ने बताएका थिए ।

इकबाललाई बोर्डका निर्देशकबाट ’भारतको एजेन्ट’ भन्ने टिप्पणी आएपछि प्रशंसकहरूले मात्र नभई वर्तमान खेलाडीहरूले पनि विरोध गरेका छन् । मोमिनुल हक, तस्किन अहमद र तैजुल इस्लाम लगायत धेरै खेलाडीहरूले सामाजिक सञ्जालमा तमिमको समर्थन गरेका छन् । साथै बंगलादेश क्रिकेट कल्याण संघले पनि विवादास्पद निर्देशकको राजीनामा माग गरेको छ ।

यसैबीच बंगलादेशको क्रिकेटर कल्याण संघले बंगलादेशमा जारी बिपीएलदेखि सबै फम्र्याटक खेल बहिष्कार गर्ने चेतावनी दिएको छ । संघले इस्लामले निर्देशकबाट राजीनामा नदिए सबै खेल बहिष्कार गर्ने चेतावनी दिएको हो । स्थिति बिग्रिदै गएपछि बंगलादेश क्रिकेट बोर्डले निर्देशक इस्लामलाई स्पष्टीकरण सोधेको छ ।
FACEBOOK COMMENTS