काठमाडौं । प्रतिनिधि सभा सदस्यको लागि फागुन २१ गते हुने निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न निर्वाचन आयोगले जनाएको छ ।
आयोगका आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्यक्रम सञ्चालन गरिएको र तोकिएको समयभित्र सम्पन्न भएको जानकारी दिएको हो ।
पछिल्लो अपडेट अनुसार साँझ ५ बजेसम्म कुल २ हजार ६५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महिला ३०३ जना र पुरुष २ हजार ३५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यक्रम अनुसार मनोनयन दर्ता भएका उम्मेदवारको सूची साँझ ७ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिने आयोगले बताएको छ । त्यस्तै आयोगले माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने बताएको छ ।
उजुरीमाथि जाँचबुझ तथा निर्णय माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म गरिनेछ भने माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म योग्य उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

त्यसैगरी, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

FACEBOOK COMMENTS