काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रासँग विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ । बुधबार अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्राविरुद्ध दायर भएको भ्रष्टाचारको मुद्धामा ५ लाख धरौटी माग गरेको हो ।
मिश्रले महानिर्देशक हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो । वर्तमान सरकारमा स्वास्थ्य मन्त्री बन्ने करिब तय भएपछि उनले अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी थिइन् । तर भ्रष्टाचार मुद्दा विचाराधीन अवस्थामा रहेपछि प्रधानमन्त्री कार्कीले उनलाई सिफारिस गरिसकेपछि फिर्ता गरेकी थिइन् ।
२- आइसीसीले टी-२० विश्वकपमा बंगलादेश सहभागी नभएमा स्कटल्याण्डलाई सहभागी गराउने भएको छ । भारतमा विश्वकप टी-२० खेल्न नआउने अडानमा रहेको बंगलादेशलाई आइसीसीले एक दिनको समय दिएर निर्णय गर्न अल्टिमेटम दिएको हो । आइसीसीको बोर्ड बैठकमा यस निर्णयमा भएको मतदानमा १५ निर्देशक उपस्थित रहेकोमा पाकिस्तानले मात्र बंगलादेशको समर्थन गरेको थियो ।
अब एक दिनमा बंगलादेशले भारतमा विश्वकप खेल्न नआउने निर्णय गरेमा वरियताको आधारमा स्कटल्याण्डले विश्वकप खेल्ने अवसर पाउने छ । बंगलादेशलाई टी- २० विश्वकपमा समूह सी मा रहेको छ । उसले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इङ्गल्याण्डसँग सामना गर्नेछ । तीनवटै खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा खेलिनेछ । साथै टोलीको अन्तिम समूह चरणको खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग हुने तालिका रहेको छ ।

३- नेटोका पूर्व महासचिव एन्डरस फोग रासमुसेनले अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गर्ने समय आएको टिप्पणी गरेका छन् । उनले ट्रम्पलाई खुसी पार्ने समय सकिएको बताउदै युरोपबाट कडा प्रतिक्रिया आउनुपर्ने टिप्पणी गरेका छन् । डेनमार्कका पूर्व प्रधानमन्त्री समेत रहेका रासमुसेनले द इकोनोमिस्टमा लेख लेख्दै अब अति भएको बताएका छन् ।

उनले भनेका छन्- ‘मैले सधैं संयुक्त राज्य अमेरिकाको प्रशंसा गरेको छु । (डेनमार्कको) प्रधानमन्त्री र (नाटोको) महासचिवको रूपमा, मैले अमेरिकालाई स्वतन्त्र संसारको नेता मानेको छु । तर ग्रीनल्याण्डको बारेमा धम्की पछि, म भन्न चाहन्छु कि अब अति भयो। युरोपले आफ्नो हितको रक्षा गर्नुपर्छ ।’

ट्रम्पले ग्रीनल्याण्डको प्रस्तावित विलयको विरोध गर्ने आठ युरोपेली देशहरूमा १० प्रतिशत कर लगाउने धम्की दिएपछि, युरोपेली आयोगका अध्यक्ष, फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीले अमेरिकी अडानको कडा आलोचना गरेका छन् । हाल, स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको बैठक चलिरहेको छ र ट्रम्पको त्यहाँ युरोपका नेताहरूलाई भेट हुने बताइएको छ ।

४- राष्ट्रिय परीक्षा बोर्डले एसईईको तालिका सार्वजनिक गरेको छ । २०८२ सालको एसईई परीक्षा चैत्र १९ गते बिहीबारबाट सुरु हुने तालिका सार्बजनिक भएको छ । जस अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ भने दोस्रो दिन चैत्र २० गते अनिवार्य नेपाली, तेस्रो दिन चैत्र २२ गते अनिवार्य गणित, चैत्र २३ गते अनिवार्य विज्ञान, चैत्र २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुने भएको छ । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुने बोर्डले जानकारी दिएको छ । गतबर्ष चैत्र ७ गतेदेखि भएको एसइई परीक्षा यस बर्ष १२ दिन पछि सारिएको छ ।

५- नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारविरुद्ध उजुरी परेको छ । कैलाली-१ बाट मनोनयन दर्ता गरेका चौधरीको उम्मेदवारी बदर गर्न मागसहित नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डंगौराले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । टीकापर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरी राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहाइ भएका थिए । निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पेश गर्न बिहीबारसम्मको समय दिएको बताएको छ ।
६- दक्षिण कोरियाली अदालतले पूर्व राष्ट्रपति युन सुक योलले लगाएको मार्शल ललाई संविधानविरुद्धको विद्रोह घोषित गरेको छ । अदालतले पूर्व राष्ट्रपतिका नजिकका सहयोगी पूर्व प्रधानमन्त्री हान डुक सूलाई २३ वर्षको जेल सजाय सुनाएको छ । यो फैसलालाई युन प्रशासनसँग सम्बन्धित विद्रोह मुद्दामा पहिलो ठूलो दोषी ठहर मानिएको छ ।
आफ्नो फैसलामा, सोल केन्द्रीय जिल्ला अदालतले युन सुक योलको मार्शल ल आदेश संवैधानिक व्यवस्थालाई कमजोर पार्ने उद्देश्यले गरिएको ‘कू’ भएको बताएको छ । अदालतले संसद र निर्वाचन कार्यालयहरूमा सेना र प्रहरीको तैनाथीलाई गम्भीर अस्थिरतापूर्ण उपायको रूपमा वर्णन गरेको छ । अदालतका अनुसार, तत्कालीन प्रधानमन्त्री हान डुक सूले मन्त्रिपरिषद्को बैठक मार्फत मार्शल ल आदेशलाई प्रक्रियागत वैधता दिने प्रयास गरेका थिए, यसरी विद्रोहमा प्रमुख भूमिका खेलेका थिए ।
उनलाई मार्शल ल घोषणालाई झूटो साबित गरेको, कागजातहरू नष्ट गरेको र शपथ लिएर झुटो बोलेकोमा पनि दोषी ठहराइएको थियो । अदालतको फैसलामा हानले संविधानको रक्षा गर्ने आफ्नो कर्तव्यलाई बेवास्ता गरेको र यो सफल हुन सक्छ भन्ने विश्वास गर्दै विद्रोहमा सामेल भएको उल्लेख गरिएको छ । अदालतले यस्ता कार्यहरूले देशलाई नागरिक अधिकार र लोकतन्त्रलाई दबाइने युगमा फर्काउन सक्छ ।
हान डुक सूलाई सजाय सुनाइएपछि तुरुन्तै जेल हालियो । उनी पहिले हिरासतमा थिएनन् । स्वतन्त्र अभियोजकले उनको लागि १५ वर्षको सजाय माग गरेका थिए, त्यसैले २३ वर्षको सजाय अप्रत्याशित मानिएको छ। हानले यो निर्णयमा अपील गर्न सक्छन् । राष्ट्रपति युन सुक येओलविरुद्ध चलिरहेको मुद्दाको लागि पनि यो निर्णय महत्त्वपूर्ण मानिएको छ । युनलाई विद्रोहको योजना बनाएको आरोप छ र स्वतन्त्र अभियोजकले मृत्युदण्डको पनि माग गरेका छन् । उनको विद्रोह मुद्दामा फेब्रुअरी १९ मा फैसला हुने अपेक्षा गरिएको छ । युन पहिले नै धेरै मुद्दामा जेलमा छन् र उनले अनुसन्धानलाई राजनीतिक रूपमा प्रेरित भन्दै सबै आरोपहरू अस्वीकार गरेका छन् ।
७- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापारमा आयात १४.१८ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो ६ महिनामा आयात १४.१८ प्रतिशत बढेको छ भने निर्यात ४३.७६ प्रतिशतले बढेको छ । रिपोर्ट अनुसार ६ महिनमा ९ खर्ब ३९ अर्ब २ करोड २८ लाख ८३ हजार बराबरको वस्तु आयात भएको छ ।
अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ६ महिनमा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख ४६ हजार बराबरको आयात भएको थियो । यस्तै यस आर्थिक बर्षको ६ महिनामा एक खर्ब ४२ अर्ब १ करोड ८० लाख १६ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार बराबरको निर्यात भएको थियो । यस आर्थिक बर्षको ६ महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा व्यापार घाटा १०.१५ प्रतिशतले बढेको छ ।
व्यापार घाटा चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ९७ अर्ब ४८ लाख पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ७ खर्ब २३ अर्ब ५८ करोड रहेको थियो । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको ६ महिनामा कुल वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार १० खर्ब ८१ अर्ब ४ करोड पुगेको छ, जबकी अघिल्लो बर्षको ६ महिनामा कुल बैदेशिक व्यापार ९ खर्ब २१ अर्ब १५ करोड रहेको थियो । त्यसैगरी ६ महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष ८.३२ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.५१ गुणामा झरेको छ ।
८- नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । रौतहट-१ बाट प्रतिनिधिसभाका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा बुधबार नेपालविरुद्ध उजुरी दिएका हुन् ।
उजुरीमा नेपालविरुद्ध पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र भ्रष्टाचार मुद्दा दायर भइ निलम्बित अवस्थामा रहेका व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम निर्वाचन लड्न अयोग्य हुने भएको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गरिएको छ ।
सो मुद्धामा नेपाल हाल विशेष अदालतको धरौटीमा बाहिर रहेका छन् । उनी गत असारमा ३५ लाख धरौटी बुझाएर रिहा भएका थिए । नेपाल गत निर्वाचनमा पनि रौतहट-१ बाट निर्वाचित भएका थिए ।
९- गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ । आसन्न निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बसेको हो । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था रहेको छ । बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यस अघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तको योजनाका बारेमा समीक्षा भएको छ ।
निर्वाचन सुरक्षा योजना सम्बन्धमा चार वटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा बैठकमा ब्रिफिङ भएको छ, साथै सुरक्षा अवस्था र सुरक्षा चुनौतीबारे विश्लेषण गरिएको छ। त्यस्तै बैठकमा सबै सुरक्षा निकायले समन्वय गरेर प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनेबारे छलफल भएको हो । बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ । त्यस्तै राजनीतिक दल र उम्मेदवारहरूको प्रचार प्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।
निर्वाचनको प्रचार प्रसारको क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सो को निगरानीलाई प्रभावकारी बनाउने र गैर कानुनी भएको पाइएमा सो को कडाइका साथ कारबाही गर्ने निर्णय समेत बैठकले गरेको छ ।
१०- नेप्सेमा आज गिरावट आएको छ । बुधबार नेप्से ९.४३ अंकले घटेर २७०५.३८ विन्दुमा पुगेर रोकिएको छ । आज ३२४ कम्पनिका २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज कालिका पावरको शेयरमा सबैभन्दा बढी ९.८४ प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको ९.१६ प्रतिशतले बढेको छ । त्यस्तै आज गुराँस लघुवित्तको शेयर सबै भन्दा बढी ५.८९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ३६ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड ५ लाख बराबरको कारोबार भएको छ ।
११- झापाको कमल गाउँपालिका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । बुढाथोकीले बालेन शाहलाई समर्थन गर्ने भन्दै काँग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा गरेको घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘हामीले पार्टीमा गरेको मेहनत र बगाएको पसिना एक दुई ठालुले मात्र ठगिखाने पेसा बनाएको र पार्टी सिस्टममा नचलेर नेताको हुकुममा चल्नु पर्ने परिपाटी कहिले सुधार हुने सङ्केत नदेखिएको र देशले मागेको परिवर्तनलाई अस्वीकार गर्ने र यथास्थितिलाई अँगाल्ने, आफ्नो व्यक्तिगत स्वार्थ सर्वोपरि राख्ने नेताको चरित्रले युवाको देश बनाउने अभियानमा बाधक हुने देखेको र मेरो आफ्नो स्वभाव र स्वाभिमानले समेत सो कुरालाई स्वीकार गर्न नसकेको हुँदा आजैका मितिदेखि रवि लामिछानेको अभियानमा सहभागी बन्दै युवा आइकन बालेन शाहलाई झापा–५ बाट विजयी बनाउन मेरो निस्वार्थ सहयोग रहनेछ ।’
कमल गाउँपालिकाका सबै ७ वडा झापा- ५ मा पर्दछन् । यस क्षेत्रबाट बालेन उम्मेदवार बनेपछि विभिन्न दलबाट रास्वपा प्रवेश गर्ने लहर चलेको छ । यस अघि एमाले निकट युवा संघका दमक अध्यक्ष छवि खतिवडाले बालेन शाहको समर्थन गर्दै पार्टी छोडेका छन् भने राप्रपाका दमक नगर सभापतिले पनि पार्टी छोडेर बालेनको समर्थनमा उत्रिएका छन् ।
१२- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनप्रति टिप्पणी गरेका छन् । ट्रम्पले जी ७ को आपतकालीन बैठकमा भाग लिन पेरिस जाने विषयमा सोधिएको प्रश्नको जवाफ दिदै आफु नजाने र म्याक्रोन फ्रान्सको राष्ट्रपति लामो समय नरहने टिप्पणी गरेका हुन् ।
यसअघि, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकाले लगाएको नयाँ करहरूको अनन्त वृद्धि मौलिक रूपमा अस्वीकार्य भएको बताएका थिए । म्याक्रोनले क्षेत्रीय सार्वभौमिकतालाई दबाब दिन हतियारको रूपमा प्रयोग गरिन्छ तब यो अझ गम्भीर हुने टिप्पणी गरेका थिए । म्याक्रोनले दाभोसमा जारी आर्थिक मञ्चमा यस्तो टिप्पणी गरेका हुन् । दाभोसमा, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि ग्रिनल्याण्डसँग ऐक्यबद्धता व्यक्त गर्दै ग्रिनल्याण्ड र डेनमार्कको साथ दृढतापूर्वक उभिने बताएका छन् । ट्रम्प पनि स्वीजरल्याण्डको दाभोसमा विश्व नेताहरूको आर्थिक मञ्चमा भाग लिन त्यसतर्फ जादैछन् ।
१३- स्विट्जरल्याण्डको ज्यूरिखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरोधमा प्रदर्शन भएको छ । ट्रम्पको स्विट्जरल्याण्ड भ्रमणको विरोधमा निकालिएको र्यालीपछि प्रदर्शनकारी र दंगा प्रहरीबीच हिंसात्मक झडप भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो, जबकि प्रदर्शनकारीहरूले प्रहरीको कारबाहीको प्रतिरोध गरेका थिए । र्याली समाप्त भएपछि झडप भयो, जसले शहरका धेरै क्षेत्रहरूमा अराजकता सिर्जना गरेको थियो । प्रदर्शनकारीहरूले वर्ल्ड इकोनोमिक फोरममा ट्रम्पको सहभागिताको विरोध गरिरहेका थिए, यसलाई विश्वव्यापी कर्पोरेट हितको प्रतीक भन्दै, र ट्रम्पको उपस्थितिको विरुद्धमा नाराबाजी पनि गरिरहेका थिए । सुरक्षाका लागि प्रहरीले थप बल तैनाथ गरेको थियो। अधिकारीहरूका अनुसार, स्थिति नियन्त्रणमा ल्याइएको छ, यद्यपि घाइते वा गिरफ्तारीको बारेमा तत्काल कुनै आधिकारिक जानकारी आएको छैन ।
१४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा भेटघाट तीव्र बनाएका छन् । दमक पुगेका उनले एमालेका तल्लो स्तरका कार्यकर्तासँग छलफल शुरु गरेका हुन् । मंगलबार मनोनयन दर्ता गरेपछि ओलीले बुधबार बिहानदेखि विभिन्न वडाका नेता कार्यकर्तासँग छलफल थालेका हुन् । उनले युवाहरुसँग छलफल गर्दै आफ्नो क्षेत्रमा जारी विकास निर्माणका कामको प्रगति र आगामी योजनाका बारेमा छलफल गरिरहेका छन् ।
ओलीविरुद्ध बालेन शाहले रास्वपाबाट उम्मेदवारी दिएपछि झापा यस चुनावको इपिसेन्टर बनेको छ । अर्कोतर्फ बालेनले पनि विभिन्न समुह र व्यक्तिहरुसँग भेटघाट तिब्र बनाएका छन् । दमकमा बालेनको पक्षमा खुल्नेहरुको संख्या पनि बढिरहेको छ । यसअघि राप्रपा दमकका सभापतिले राजीनामा दिएर बालेनको समर्थन गरेका थिए भने बुधबार बिहान एमाले निकट युवा संघका दमक अध्यक्षले पनि पार्टी छोडेर बालेनको समर्थन गरेका छन् । मनोनयन दर्तासँगै ओली र बालेनले आगामी दिनमा थप आक्रामक रुपमा चुनावी प्रचार गर्ने संकेत गरेका छन् ।
१५- नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका दमक नगरका अध्यक्ष छवि खतिवडाले बालेन शाहको समर्थन गर्दै पार्टी छोडेका छन् । खतिवडाले झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने बताउदै एमालेको संगठित सदस्य पद परित्या गरेको घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु ।
यो मेरो राजनीतिक जीवनमा सहयोग गर्नुहुने पार्टी, युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। अग्रगामी परिवर्तनका पक्षमा र सामाजिक जीवनमा सदैव लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बनेको र उनलाई बालेन शाहले चुनौती दिएको समयमा उनले पार्टी छोडेर बालेनको कित्तामा उभिएका छन् ।
१६- प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा ३४८६ उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार माघ ६ गते देशभर एकैपटक सम्पन्न भएको मनोनयन पत्रमा कूल ३४८६ उम्मेदवारीमध्ये ३०८९ पुरुष, ३९६ महिला तथा अन्य १ जना रहेका छन् । यस सूचीमा सामान्य परिवर्तन हुन सक्ने आयोगले जनाएको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते दाबी विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने आज दिनको दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचवुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । त्यस्तै माघ ९ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जानकारी दिएको छ ।
१७- जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई घरमै बनाएको बन्दुकले हत्या गर्ने व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ । जापानको सार्वजनिक प्रसारक एनएचकेका अनुसार यो फैसलाले जापानलाई स्तब्ध पार्ने हत्याको बारेको मुद्दाको अन्त्य भएको छ । तेत्सुया यामागामीले आबेलाई २०२२ मा पश्चिमी शहर नाराको एक सडकमा चुनावी भाषण दिइरहेका बेला घरमै बनाएको बन्दुकले दिनदहाडै गोली हानेका थिए ।
आबेले स्वास्थ्यको कारणले २०२० मा प्रधानमन्त्री पद त्यागेका थिए । तर उनी अझै पनि राजनीतिक रूपमा सक्रिय थिए र जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्रीको रूपमा ठूलो प्रभाव पारेका थिए । ४५ वर्षीय यामागामीलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो र अर्को वर्ष हत्या र हतियारको आरोपमा अभियोग लगाइएको थियो । कडा बन्दुक कानूनका कारण बन्दुक अपराधको दर विश्वको सबैभन्दा कम रहेको जापानमा बन्दुकबाट भएको उनको हत्याले जापानमा स्तब्ध पारेको थियो ।
जापानको राजनीतिक स्थिरताको अन्तिम अवधिको रूपमा हेरिएको प्रधानमन्त्री आबेले २००६ देखि २००७ सम्म र फेरि २०१२ देखि २०२० सम्म पदभार सम्हालेका थिए । आफ्नो दुई कार्यकालमा, उनले जापानको सुरक्षा मुद्रालाई परिवर्तन गरे, शान्तिवादी राष्ट्रको रूपमा यसको स्थितिमाथि प्रश्न उठाए र २०१५ मा प्रमुख सुरक्षा कानून पारित गरे जसले संयुक्त राज्य अमेरिकालाई समर्थन गर्न जापानले सैन्य रूपमा के गर्न सक्छ भनेर विस्तार गर्यो । उनी विश्व मञ्चमा एक प्रमुख व्यक्तित्व पनि थिए, वाशिंगटनसँग बलियो सम्बन्ध बनाएर, बेइजिङसँगको सम्बन्ध सुधार गर्दै, प्रशान्त क्षेत्रका सहयोगीहरूलाई एकताबद्ध गरेर यस क्षेत्रमा चिनियाँ विस्तारको प्रतिरोध गर्ने प्रयास पनि गरिरहेका नेता थिए ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १० हजार ४ सयले बढेर तोलाको २ लाख ९५ हजार १०० मा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो ।
यसअघि मंगलबार सुन तोलाको २ लाख ८४ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर तोलाको ५९२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५८८० रुपैयाँमा कारोबार भएको थियो ।
१९- पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रुकुम पूर्वमा घरदैलो शुरु गरेका छन् । सो क्रममा प्रचण्डले जनयुद्धका बेला रुकुमकोट प्रहरी चौकी कब्जा गरिएको स्थानको अवलोकन गरेका थिए, जहाँ हाल युद्ध संग्रहालय निर्माण गरिएको छ। सो अवसरमा संयोजक प्रचण्डले उक्त स्थललाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे ।
संयोजक प्रचण्डले घरदैलोका क्रममा सहिद सिता घर्तीमगरकी आमा, सहिद जीवन काजीकी आमा लगायत विभिन्न सहिद परिवारका सदस्यहरूसँग भेटघाट गरेका छन् । सहिद परिवारसँगको भेटमा उनले सहिदहरूको सपना आफूले नबिर्सिएको बताउँदै जनयुद्धका सहिदहरूको सम्मानमा राज्यस्तरबाट कामको थालनि भएको र अझै बढि अधिकार स्थापित गर्न आफू सक्रिय रहेको बताए ।
संयोजक प्रचण्डले आफू सरकारमा रहँदा जनयुद्धका सहिदहरूको नाम राष्ट्रिय रूपमा राजपत्रमा प्रकाशित गरिएको, सहिद परिवारका सदस्यलाई रोजगारी तथा विभिन्न अवसर उपलब्ध गराउने कार्यविधि बनाइएको जानकारी दिए । घरदैलो अभियानका क्रममा उनले रुकुम पूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गरेका छन् ।
२०- युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मोनाकोलाई ६-१ गोलले जितेको हो । रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने भिनिसियस जुनियर, जुड बेलिङघम र फ्रान्को मस्टानटुओनोले एक एक गोल गरेका थिए । त्यस्तै रियलका लागि मोनाकोका थिलो केहरेरले एक गोल आत्मघाती गोल गरेका थिए । त्यस्तै मोनाकोका लागि जोर्डन तेजले एक गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिडको च्याम्पिन्स लिगमा ७ खेलमा १५ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मोनाकोको ७ खेलमा ९ अंक रहेको छ र हाल २०औं स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS