काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले शुक्रबार पार्टी कार्यालय सानेपा गएर कार्यभार सम्हाल्ने भएका छन् ।
थापाले शुक्रबार १ बजे सानेपा पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको हो ।
दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित भएका थापासहितको कार्यसमितिले कार्यभार सम्हालेलगत्तै कार्यसमितिको बैठक पनि बस्ने बताइएको छ ।
धेरै जस्तो केन्द्रीय समितिका सदस्यहरू निर्वाचनका लागि जिल्लामा भएकाले काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरू बैठकमा सहभागी हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
गत पुस ३० मा थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचित भएपछि दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको बैठक पार्टी प्यालेस र होटेलमा बसेको थियो ।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि थापा नेतृत्वको कार्यसमिति पार्टी कार्यालय जाने बातावरण बनेको हो ।

यसअघि देउवा पक्षले गगन थापा नेतृत्वको काँग्रेसलाई पार्टी कार्यालय जान नदिने भन्दै रातभर सानेपामै बसेका थिए ।

FACEBOOK COMMENTS