काठमाडौं । विश्वव्यापी मोबिलिटी प्लेटफर्म इनड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सका लागि “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा” अभियान अन्तर्गत विशेष सुरक्षा तालिम सत्र सफलतापूर्वक आयोजना गरेको छ।
यस पहलको मुख्य उद्देश्य चालकहरूलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमहरूको पालना, जिम्मेवार ड्राइभिङ र व्यावसायिक आचरणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको थियो। यस तालिमले सुरक्षित र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माण गर्न चालकहरूको भूमिकालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
तालिम सत्रलाई नेपाल ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए, जहाँ उनीहरूले सुरक्षित सडकका लागि प्लेटफर्म, चालक र सम्बन्धित निकायहरूबीचको साझा जिम्मेवारी र सहकार्यको महत्त्वमा जोड दिएका थिए।
इनड्राइभले आफ्ना चालकहरूलाई केवल आर्थिक रूपमा मात्र नभई, सडकका वास्तविक चुनौतीहरू सामना गर्न सक्षम, आत्मविश्वासी र सचेत बनाउन यस प्रकारको गुणस्तरीय तालिमलाई प्राथमिकता दिँदै आएको छ।
यस कार्यक्रममा इनड्राइभको विशिष्ट ‘स्वतन्त्र छनोट’ मोडेलको बारेमा पनि चर्चा गरिएको थियो, जसले ड्राइभरहरूलाई यात्रासम्बन्धी निर्णयहरू स्वतन्त्र रूपमा लिन सक्ने अधिकार प्रदान गर्दछ।

सुरक्षा शिक्षालाई यस स्वायत्ततासँग जोड्दै इनड्राइभले सेवाको गुणस्तरमा कुनै सम्झौता नगरी एक न्यायपूर्ण र दिगो मोबिलिटी प्रणालीलाई प्रवद्र्धन गरिरहेको छ।

इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले चालक सशक्तिकरणलाई प्रविधि र आम्दानीको अवसरभन्दा माथि जिम्मेवार र सुरक्षित मोबिलिटी संस्कृतिको विकाससँग जोडिएको बताइन्।

उनका अनुसार यस्ता पहलहरूले चालकहरूलाई थप व्यावसायिक बनाउँदै समग्र यात्रु अनुभवमा सकारात्मक प्रभाव पार्ने र नेपालको मोबिलिटी इकोसिस्टमलाई सुरक्षित, समावेशी र दिगो बनाउन मद्दत पुग्नेछ।

FACEBOOK COMMENTS