काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यो अवधिमा बैंकले २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २.०४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । जसले गर्दा नाफा बढेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेर ४ अर्ब ५७ करोड २९ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।
यस्तै सञ्चालन नाफा २.०६ प्रतिशतले बढेर ३ अर्ब १७ करोड १६ लाख ४६ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३४ करोड ९५ लाख ९८ हजार रुपैयाँबाट बढेर ५६ करोड २७ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३४ करोड २८ लाख ३१ हजार रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ७२ पैसा छ । यस्तै बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ २० पैसाले घटेर ३० रुपैयाँ ८६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा छ ।

१३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ५२ करोड ९६ लाख ७९ हजार रुपैयाँ छ । पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४ अर्ब ९५ करोड ८७ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब ४२ करोड ७२ लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरेको जनाएकाे छ ।

FACEBOOK COMMENTS