काठमाडौँ । श्रीलंकाले आइसीसी टी–२० क्रिकेट विश्वकपका लागि टिमको घोषणा गरेको छ । श्रीलंका क्रिकेट बोर्डले दासुन शनाकाको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
श्रीलंकाको टिममा धनञ्जय डे सिल्भाको स्थानमा कामिन्दु मेन्डिस टिममा फर्किएका छन् । त्यस्तै घाइते तीव्र गतिका बलर इशान मालिंगा पनि टोलीको हिस्सा बनेका छन् ।
श्रीलंकाले फेब्रुअरी ८ मा आफ्नो पहिलो खेल खेल्नेछ । श्रीलंका अष्ट्रेलिया, आयरल्याण्ड, ओमान र जिम्बाब्वेसहित समूह बी मा रहेको छ । टोलीले आफ्ना सबै समूह चरणका खेलहरू घरेलु मैदानमै खेल्नेछ । श्रीलंकाले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा आयरल्याण्डसँग खेल्नेछ । त्यसपछि फेब्रुअरी १२ मा ओमान, फेब्रुअरी १६ मा अष्ट्रेलिया र फेब्रुअरी १९ मा जिम्बाब्वेसँग खेल्ने तालिका रहेको छ ।
श्रीलंकाको विश्वकप खेल्ने टिम: दासुन शनाका (कप्तान), पथुम निस्सान्का, कामिल मिशारा, कुसल मेन्डिस, कुसल पेरेरा, चरिथ असालंका, कामिन्दु मेन्डिस, जानिथ लियानागे, पवन रत्नायके, डुनिथ वेलालागे, वानिन्दु हसरंगा, महेश थेक्सना, दुष्मन्था चामीरा, मथिश पाथिराना र इशान मालिंगा।
टी–२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।

FACEBOOK COMMENTS